रजौरा मन्दिरको महायज्ञमा लाखौं संकलन

दाङ, २२ चैत ।  दाङको तुलसीपुर–६, शिवशक्ति टोल पूर्वी रजौरामा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञप्रति श्रद्धालुहरूको आकर्षण दिनानुदिन बढ्दै गएको छ । मंगलबारदेखि सुरु भएको महायज्ञमा छैठौँ दिनसम्म आइपुग्दा भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको आयोजकले जनाएको छ ।

शिवशक्ति टोल विकास संस्था तथा शिवशक्ति पशुपतिनाथ मन्दिरको आयोजनामा सञ्चालन भइरहेको महायज्ञमा दैनिक रूपमा श्रद्धालुहरूको भीड बढ्दै जाँदा धार्मिक वातावरण थप उत्साहपूर्ण बन्दै गएको छ । महायज्ञ व्यवस्थापक तिलकराम शर्माका अनुसार पाँचौँ र छैठौँ दिन मात्रै ४ लाख ६३ हजार १४३ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ, जसले कार्यक्रमप्रति स्थानीयको आस्था र समर्थन स्पष्ट पारेको छ ।


चैत २४ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथावाचकका रूपमा सुप्रसिद्ध पण्डित चन्द्रकान्त काफ्ले तथा उपवाचक पण्डित रोहित सुवेदीले धार्मिक प्रवचनमार्फत भक्तजनलाई आध्यात्मिक मार्गदर्शन गरिरहनुभएको छ ।

मन्दिर परिसरमा रहेको योग भवनको भौतिक पूर्वाधार निर्माण तथा समग्र विकासलाई लक्ष्य राख्दै आयोजना गरिएको महायज्ञमा दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, समाजसेवी गोविन्द रजौरे लगायत ३ सयभन्दा बढी भक्तजनको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण डिल्लीराज रेग्मीले गर्नुभएको थियो ।