
दाङ, २३ माघ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा मोतीविन्दुको शल्यक्रिया (अपरेसन) सेवा सुरु भएको छ । प्रष्तिष्ठानमा लामो समयदेखि आँखाको उपचार हुँदै आएको आए पनि शल्यक्रियाको सेवा भने भएको थिएन । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले यसै महिनादेखि मोतीविन्दुको शल्यक्रिया सुरु गरेको बताए। उहाँले अहिलेसम्म पाँच जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको जानकारी दिए ।
यो सेवा सुचारु भएसँगै घोराही, देउखुरी, बङ्गलाचुली, तुलसीपुर, रुकुम, रोल्पा, प्युठान, सल्यान लगायतका नागरिकलाई सहज हुने सूचना अधिकारी भट्टराईले बताए । यस अघि घोराही उपमहानगरपालिका, बङ्गलाचुली गाउँपालिका लगायतका नागरिकहरू आँखाको शल्यक्रियाका लागि तुलसीपुर स्थित रक्षाचौर र लमही स्थित आँखा अस्पतालमा जानुपर्ने बाध्यता थियो । उनले अबदेखि प्रतिष्ठानमा आँखा रोग विशेषज्ञ डा.सुरेश रसाइलीले नियमित रूपमा मोतीविन्दुको उपचारसँगै शल्यक्रिया हुने जानकारी दिए ।
यसैबिच आँखा रोग विशेषज्ञ डा.रसाइलीले आइतबार देखि मोतीविन्दुको शल्यक्रियाको सुरु गरेको बताए । “यसअघि सामान्य अप्रेसन, उपचार त हुँदै आएको थियो, उनले भमे, म आएपछि मोती विन्दुको शल्यक्रियाको सुरु गरेको हुँ ।” उहाँले आफु गत पुस १ गतेदेखि प्रतिष्ठानमा ज्वाइन भएको बताए ।
उनका अनुसार मोतिविन्दुको शल्यक्रियाका लागि न्यूनतम दस हजार देखि ४० हजारसम्म खर्च हुन्छ । मोतीविन्दुको शल्यक्रियाका लागि लेन्स अनुसार खर्च हुन्छ, डा.रसाइलीले भने, लेन्सको कुन क्वालिटी प्रयोग गर्ने हो, त्यहि अनुसार खर्च हुन्छ । उहाँले आधुनिक प्रविधिको माध्यमबाट सहज तरिकाले मोतीविन्दुको शल्यक्रिया गरिरहेको बताए ।
अहिले अनुहारमा हड्डी भाचिएको, आँसु नलीको अप्रेसन, आँखाको क्यान्सर अप्रेसन, कस्मेटिक अप्रेसेन, जलविन्दुको अप्रेसन र मोतीविन्दुको अप्रेसन गरिँदै आएको डा। रसाइलीले जानकारी दिए ।



लाइभदाङ । २३ माघ २०८१, बुधबार ०८:२३ बजे