
प्रिया स्मृती गजमेर
देउखुरी,२० चैत ।
अध्ययन तथा अवलोकन भ्रमणका क्रममा कैलालीको धनगढी उपमहानगरपालिकाबाट आएको जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीलाई दाङको लमही नगरपालिकाले भव्य स्वागत गरेको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला कुमारी राना तथा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीसहितको टोलीलाई लमही नगरपालिकाले औपचारिक कार्यक्रम आयोजना गरी स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख गोपाल हमालले साना–साना कामबाटै जनताको मन जित्न सकिने धारणा व्यक्त गर्नुभयो । “हामीले धनगढीमा ठूला–ठूला योजना होइन, जनताको दैनिकीसँग जोडिएका कामलाई प्राथमिकता दिएका छौं,” उहाँले भन्नुभयो, “अत्यधिक आश्वासन बाँडेर पूरा गर्न नसक्दा जनतामा निराशा पैदा हुन्छ, त्यसैले व्यवहारिक र प्रभावकारी काम आवश्यक छ ।”
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले धनगढीका सकारात्मक अभ्यासहरूबाट सिक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “देशभर चर्चामा रहेको धनगढीको विकास मोडल हामीले सामाजिक सञ्जालबाट अवलोकन गर्ने अवसर पाएका छौं,” उहाँले भन्नुभयो, “त्यहाँका सफल अभ्यासलाई लमहीमा पनि कार्यान्वयन गर्ने प्रयास गर्नेछौं ।”
त्यसैगरी धनगढीकी उपप्रमुख कन्दकला कुमारी रानाले बड्घर प्रथालाई कानुनी मान्यता दिई व्यवस्थित रूपमा कार्यान्वयन गर्न सके अझ प्रभावकारी हुने सुझाव दिनुभयो ।
लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सरसफाइमा अग्रणी रहेको धनगढी उपमहानगरपालिकाको टोली अध्ययन भ्रमणका लागि लमही आउनु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले “लमही नगर निर्माण, महाअभियान” नारासहित नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले सरसफाइमार्फत नगरलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको उल्लेख गर्नुभयो । “सुधार गर्न अझै धेरै काम बाँकी छ, तर सबैको सहकार्यमा हामी निरन्तर अघि बढिरहेका छौं,” उहाँले भन्नुभयो ।
नगर प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख कन्दकला कुमारी रानाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष दामोदर पौडेल, वडा नं. ३ का अध्यक्ष मनोज कुमार चौधरी, वडा नं. ४ का अध्यक्ष सुवाश न्यौपाने, वडा नं. ६ का अध्यक्ष श्याम नारायण चौधरी लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य उपप्रमुख लक्ष्मी योगीले राख्नुभएको थियो भने सञ्चालन प्रशासन शाखा प्रमुख गायत्री थापाले गर्नुभएको थियो ।



लाइभदाङ । २० चैत्र २०८२, शुक्रबार १४:२२ बजे