विश्व स्थापनार्थ शान्ति कलश शिलन्यास

तुलसीपुर,१२ चैत ।
विश्व शान्ति स्थापनार्थ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा शान्ति कलशको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का, कलश निर्माणार्थ दाता परिवारका सदस्य इतिहासविद् प्राध्यापक श्रीधर मजगैयाले संयुक्तरुपमा कलशको शिलन्यास गर्नुभएको हो ।

छिल्लीकोट क्षेत्रका धार्मिक पर्यटन प्रवर्धन, छिल्लीकोट क्षेत्रबाट विश्वमा शान्तिको सन्देश फैलाउनका लागि कलश निर्माण सुरु गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोटको ऐतिहासिक,धार्मिक र पर्यावरणीय महत्वका साथै शान्ति कलश निर्माण पछि थप महत्व बढ्ने बताउनुभयो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सुधारको कार्यलाई पालिकाले पहिलो प्राथमिकताक्रममा राखेको बताउनुभयो । नगरप्रमुख खड्काले छिल्लीकोट क्षेत्रमा स्वास्थ्य सुविधाका लागि भौतिक संरचना निर्माण भइरहेको बताउनुभयो । उहाँले खानेपानी र विद्युत सेवा पुगेको बताउँदै अब यस क्षेत्रको पर्यापर्यटन बढाउनका लागि निर्माण गरिएको संरचनाको व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।


देवारण्य छिल्लीकोट महाअभियान अध्यक्ष सागर रेग्मीले करिब दश लाखको लागतमा सम्पन्न गरिने कलश निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ वडा कार्यालय,तुलसीपुर उपमहानगरपालिकाको चार लाख बजेट विनियोजन गरेको बताउनुभयो । पालिका,वडा, स्थानीयवासी,जनदान र जनश्रमदानबाट कलश निर्माण सुरु गरिएको रेग्मीले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १९का वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा शिलन्यास कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रदीप गौतमलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा शिलन्यास कार्यक्रमका विषयमा अभियानका अध्यक्ष सागर रेग्मीले जानकारी गराउनुभएको थियो भने धन्यवाद ज्ञापन कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गोकर्ण पौडेलले गर्नुभएको थियो ।

शिलन्यासकै दिन चार लाख पचास हजार सहयोग
कलश शिलन्यासका दिन एउटै परिवारबाट चार लाख पचास हजार सहयोग प्राप्त भएको अध्यक्ष सागर रेग्मीले बताउनुभयो । तुलसीपुर १९ दोघर्रे निवासी कालिकादेवी मजगैया,तुलसीपुर १८ निवासी पुष्पादेवी मजगैया, गोबिन्द पोख्रेल,अरुणा पोख्रेल,श्रीधर मजगैया,गंगादेवी पोखरेल,केशव पोख्रेल, शिवा पोख्रेल,अशोक पोख्रेल,पद्मा पोख्रेल,विनोद पोख्रेल र शिला पोख्रेलले ठुलो बुवा आमा शोभाकर उपाध्याय,इन्द्रकुमारी पोख्रेल, बुवा आमा मोहनप्रसाद उपाध्याय,खगेश्वरा र शिवाकुमारी उपााध्यायको स्मृतिमा चार लाख पचास हजार सहयोग गर्नुभएको हो । अध्यक्ष रेग्मीका अनुसार शिलन्यासकै दिनसम्म करिब पाँच लाख रुपिया जनदानबाट प्राप्त भएको बताउनुभयो ।