जनताको विश्वासमा खेलवाड नहोस्

दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट कमल सुवेदी विजयी हुनु केवल एक ब्यक्तिको राजनीतिक सफलता मात्र होइन, यो परिवर्तनप्रतिको जनताको चाहनाको संकेत पनि हो। यस निर्वाचनमा जिल्लाका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुनु आफैँमा ठूलो राजनीतिक सन्देश हो। लामो समयदेखि परम्परागत दलप्रति निराश भएका मतदाताले नयाँ विकल्पप्रति विश्वास ब्यक्त गरेका छन् । दाङ–३ मा सुवेदीले काँग्रेसका अनुभवी नेता दीपक गिरी लाई फराकिलो मतान्तरले पराजित गर्नु पनि यही असन्तुष्टि र परिवर्तनको चाहनाको परिणाम हो। २०७९ सालको निर्वाचनमा अपेक्षाकृत कम मत ल्याएका सुवेदीले यसपटक अत्यधिक मत प्राप्त गर्नुले जनताको विश्वास कति बढेको छ भन्ने देखाउँछ। तर, यो विश्वाससँगै ठूलो जिम्मेवारी पनि जोडिएको छ। निर्वाचनका क्रममा सुवेदीले थुप्रै महत्वाकांक्षी एजेन्डा अघि सारेका छन् ।
अन्तर्राष्ट्रिय स्तरको थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र स्थापना, राप्ती प्रादेशिक अस्पतालको स्तरवृद्धि, पश्चिम दाङका प्रत्येक टोलमा डिप बोरिङ निर्माण, किसानका लागि पेन्सन तथा कृषि बीमा कार्यक्रम जस्ता प्रतिबद्धता स्थानीय विकास र जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका विषय हुन् । त्यसैगरी खेती सुरु हुनुअघि मल र बीउ उपलब्ध गराउने, प्रत्येक स्थानीय तहमा नमुना विद्यालय बनाउने, विद्यालयमा आधुनिक पुस्तकालय स्थापना गर्ने तथा युवालाई रोजगारीसँग जोड्ने डिजिटल प्लेटफर्म निर्माण गर्ने योजना पनि उल्लेखनीय छन् ।
यस्ता एजेन्डा केवल चुनावी नारामा सीमित भए भने त्यसले जनताको आशा र विश्वासलाई निराशामा परिणत गर्नेछ। विगतमा पनि धेरै नेताले चुनावका बेला यस्तै आश्वासन दिएका थिए, तर सत्ता र जिम्मेवारी पाएपछि ती प्रतिबद्धता कागजमै सीमित भएका उदाहरणहरू प्रशस्त छन् । यही कारणले आज जनता परम्परागत दलप्रति असन्तुष्ट भएर नयाँ शक्तितर्फ आकर्षित भएका हुन्। त्यसैले रास्वपा र यसका प्रतिनिधिहरूले यो जितलाई सामान्य राजनीतिक उपलब्धि मात्र ठानेर बस्न मिल्दैन। जनताले दिएको समर्थनलाई काममार्फत प्रमाणित गर्नुपर्छ।
यदि जनताले अपेक्षा गरेको परिवर्तन देखिएन भने निराशा अझ गहिरो हुन सक्छ। यस्तो अवस्थामा जनता फेरि विद्रोह गर्न बाध्य हुनसक्ने सम्भावना पनि रहन्छ। राजनीतिमा विश्वास निर्माण गर्न गाह्रो हुन्छ, तर त्यो गुमाउन भने क्षणभर लाग्दैन। त्यसैले अहिले जनताले देखाएको विश्वासलाई कायम राख्नु नै सबैभन्दा ठूलो चुनौती हो। रास्वपाले उठाएका एजेन्डा ब्यवहारमा कार्यान्वयन गर्न सके मात्र यो जित सार्थक हुनेछ। अन्यथा, आजको आशा भोलिको निराशामा बदलिन धेरै समय लाग्ने छैन। साभारः अग्रिम साप्ताहिक