
दाङ, २२ पुस ।
आजाद खड्का
१.भूमिका
नेपाली समाज आज बहुआयामिक संकटको अवस्थामा छ। राजनीतिक रूपमा अस्थिरता, आर्थिक रूपमा परनिर्भरता, सामाजिक रूपमा असमानता, र सांस्कृतिक रूपमा उपभोक्तावादको प्रभुत्वले समाजलाई गहिरो दिशाहीनतामा धकेलेको छ । संसदीय लोकतन्त्रको सीमाभित्र रहँदै गरिएको विकास र सुधारका प्रयासहरूले श्रमिक, किसान, दलित, महिला, उत्पीडित जाति–समुदाय र सीमान्तकृत वर्गको जीवनमा अपेक्षित रूपान्तरण ल्याउन सकेका छैनन्। यही वस्तुगत यथार्थको विश्लेषणबाट नेपाली कम्युनिस्ट पार्टीले माक्र्सवादी विश्वदृष्टिकोणका आधारमा आफ्नो कार्यक्रम, रणनीति र कार्यदिशा तय गरेको हो ।
तर केवल कार्यक्रम हुनु पर्याप्त हुँदैन। कार्यक्रमलाई जीवन्त बनाउने कुरा भनेको क्रान्तिकारी कार्यशैली हो। क्रान्तिकारी कार्यशैलीको मूल आधार भनेकै लेनिनवादी संगठनात्मक सिद्धान्त हो । पार्टीले तयार पारेको राजनीतिक कार्यक्रम, रणनीति र कार्यनीतिलाई व्यवहारमा लागू गर्ने शक्ति संगठनमा निहित हुन्छ । त्यसैले आजको सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताले लेनिनवादलाई सैद्धान्तिक नारा होइन, दैनिक संगठनात्मक अभ्यासको रूपमा ग्रहण गर्नु अनिवार्य छ ।
२.लेनिनवादी संगठनात्मक सिद्धान्तका प्रमुख आयामहरू
क) आलोचना र आत्मालोचनाः संगठनात्मक जीवनको आत्मा
लेनिनवादी संगठनात्मक सिद्धान्तको पहिलो र आधारभूत आयाम भनेको आलोचना र आत्मालोचना हो। यो कुनै औपचारिक प्रक्रिया वा कमजोरलाई दबाउने हतियार होइन, बरु पार्टीलाई निरन्तर शुद्ध, गतिशील र क्रान्तिकारी बनाइरहने वैज्ञानिक विधि हो ।
आत्मालोचना भनेको संगठनभित्र प्रत्येक सदस्यले आफ्ना कमजोरी, त्रुटि र विचलनलाई इमान्दारिताका साथ स्वीकार गरी सुधारको संकल्प गर्नु हो । यसले व्यक्तिलाई मात्र होइन, समग्र संगठनलाई रूपान्तरणको दिशातर्फ अघि बढाउँछ। लेनिनका अनुसार, “स्वीकार गरिएको गल्ती समाप्त हुन्छ, तर लुकाइएको गल्ती कुहिन्छ ।” कम्युनिस्ट पार्टीमा आत्मालोचनाबाट भाग्नु भनेको क्रान्तिकारी जीवनबाट पछि हट्नु हो। जसले आफ्ना गल्ती स्वीकार गर्न सक्दैन, उसले वर्गसंघर्षको नेतृत्व गर्न सक्दैन ।
आलोचना भनेको सहयोद्धामाथि प्रहार गर्ने प्रक्रिया होइन, बरु सहयोद्धालाई सुधारतर्फ प्रेरित गर्ने क्रान्तिकारी हस्तक्षेप हो । यसले पार्टीको नीति, कार्यक्रम र वर्गीय लक्ष्यप्रतिको प्रतिबद्धतालाई सुदृढ बनाउँछ। व्यक्तिगत रिस, गुटीय स्वार्थ वा बदला भावनाबाट प्रेरित आलोचना लेनिनवादी सिद्धान्तको घोर उल्लङ्घन हो । माओत्सेतुङले भनेझैँ, “हामी रोगीलाई मार्दैनौँ, रोगको उपचार गर्छौँ।” यसैले आलोचना र आत्मालोचना पार्टीलाई विभाजित होइन, अझ एकताबद्ध र सशक्त बनाउने साधन हो ।
ख) जनवादी केन्द्रीयताः विचारको स्वतन्त्रता, कार्यमा एकता
लेनिनवादी संगठनात्मक सिद्धान्तको दोस्रो प्रमुख आयाम हो—जनवादी केन्द्रीयता। यसलाई प्रायः गलत रूपमा बुझिन्छ—कहिले केवल केन्द्रीयता मात्र जोड दिइन्छ, कहिले अराजक जनवादको आवरणमा संगठनात्मक अनुशासन कमजोर पारिन्छ । तर लेनिनवादी दृष्टिमा जनवादी केन्द्रीयता भनेको जनवाद र केन्द्रीयताको द्वन्द्वात्मक एकता हो ।
जनवाद भनेको पार्टीभित्र सबै तहका नेता–कार्यकर्तालाई विचार राख्ने, बहस गर्ने, असहमति जनाउने अधिकार सुनिश्चित गर्नु हो । नीति, कार्यक्रम र कार्यदिशा तय गर्दा हजारौं कार्यकर्ताको अनुभव, चेतना र संघर्षको संकेन्द्रण हुनु नै जनवादको सार हो। यसले पार्टी निर्णयलाई वैज्ञानिक, वस्तुगत र जीवन्त बनाउँछ ।
तर जनवाद निर्णय प्रक्रियासम्म सीमित हुन्छ । निर्णय भइसकेपछि केन्द्रीयता लागू हुन्छ । केन्द्रीयता भनेको पार्टीले सामूहिक रूपमा गरेको निर्णयलाई सबै तहले एकीकृत रूपमा कार्यान्वयन गर्नु हो । अल्पमतले बहुमतको निर्णय मान्नु, व्यक्ति संगठनको अधीनस्थ हुनु, तल्लो कमिटी माथिल्लो कमिटीको अधीनस्थ हुनु—यी सबै जनवादी केन्द्रीयताका संगठनात्मक नियम हुन् ।
जनवाद बिना केन्द्रीयता निरंकुशता हुन्छ, र केन्द्रीयता बिना जनवाद अराजकतावादमा परिणत हुन्छ। नेपाली कम्युनिस्ट पार्टीभित्र देखिने गुटबन्दी, निर्णय कार्यान्वयनमा ढिलाइ, वा ‘आफ्नो लाइन’ चलाउने प्रवृत्ति जनवादी केन्द्रीयताबाट विचलनका उदाहरण हुन् ।
समाजवादी क्रान्तिको नेतृत्व गर्न यस्तो ढुलमुल संगठन असक्षम हुन्छ। त्यसैले जनवादी केन्द्रीयताको अक्षरशः कार्यान्वयन आजको मुख्य संगठनात्मक कार्यभार हो ।
ग) सही नेतृत्व छनोटः क्रान्तिको दिशानिर्देशक शक्ति
लेनिनवादी संगठनात्मक सिद्धान्तको तेस्रो महत्वपूर्ण आयाम हो—सही नेतृत्वको छनोट। संगठन जतिसुकै राम्रो सिद्धान्तमा आधारित भए पनि, गलत नेतृत्वले त्यसलाई दिशाहीन बनाइदिन्छ । नेतृत्व भनेको पद वा हैसियत होइन, वर्गीय चेतना, राजनीतिक स्पष्टता र क्रान्तिकारी आचरणको एकीकृत अभिव्यक्ति हो ।
–सही नेतृत्व छनोट गर्दा केही आधारभूत मापदण्डहरू अनिवार्य हुन्छन् ।
पहिलो, वैचारिक स्पष्टता र माक्र्सवादी विश्वदृष्टिकोणप्रतिको निष्ठा ।
दोस्रो, इमान्दारिता र नैतिक बल—भ्रष्ट, अवसरवादी वा दोहोरो चरित्र भएको व्यक्ति क्रान्तिकारी नेतृत्व हुन सक्दैन ।
तेस्रो, निरन्तरता र सक्रियता—संघर्षबाट भाग्ने, कठिन समयमा अदृश्य हुने नेतृत्व वर्गीय आन्दोलनका लागि घातक हुन्छ ।
चौथो, कार्यदक्षता र जनसम्बन्ध—जनतासँग जोडिन नसक्ने नेतृत्व संगठनात्मक रूपमा कमजोर हुन्छ ।
सही नेतृत्व सामूहिक हुन्छ, व्यक्तिवादी होइन । लेनिनवादी सिद्धान्तले ‘नायकवाद’ होइन, सामूहिक नेतृत्व र संस्थागत निर्णय प्रणालीलाई महत्व दिन्छ । नेतृत्व स्वयं संगठनात्मक अनुशासनमा बाँधिएन भने तल्ला तहमा अनुशासन कायम हुँदैन। नेतृत्व छनोट केवल निर्वाचनको विषय होइन, निरन्तर मूल्याङ्कन, आलोचना–आत्मालोचना र वर्गीय व्यवहारको परीक्षा हो ।
नेपाली कम्युनिस्ट पार्टीको सन्दर्भमा नेतृत्वलाई पार्टीको साधन बनाउने होइन, पार्टीलाई नेतृत्वको आधार बनाउने संस्कृति विकास गर्नु नै लेनिनवादी संगठनात्मक सिद्धान्तको सार हो ।
३.नेपाली कम्युनिस्ट पार्टीः ऐतिहासिक भूमिका र वर्तमान कार्यभार
नेपाली कम्युनिस्ट पार्टीले नेपाली समाजको रूपान्तरण प्रक्रियामा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको राजनीतिक शक्ति हो। निरंकुश राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संघीय संरचना, समावेशी राज्य अवधारणा र सामाजिक न्यायका मुद्दालाई राष्ट्रिय एजेन्डामा स्थापित गर्ने कार्यमा पार्टीको योगदान निर्णायक रहँदै आएको छ ।
यी उपलब्धिहरू सशक्त संगठन, स्पष्ट वैचारिक दिशा र क्रान्तिकारी नेतृत्वका परिणाम हुन् ।
तर आज पार्टी नयाँ चरणको चुनौती सामना गरिरहेको छ । संसदीय अभ्यासको लामो प्रक्रियाले पार्टीभित्र सुधारवादी सोच, सत्ता–केन्द्रित राजनीति, संगठनात्मक शिथिलता र कार्यकर्ता निष्क्रियता जन्माएको यथार्थलाई आत्मालोचनात्मक रूपमा स्वीकार गर्नुपर्छ । पार्टीका धेरै संरचनाहरू कागजी बनेका छन्, नियमित बैठक, प्रशिक्षण र जनसम्बन्ध कमजोर भएका छन् । यही अवस्थाबाट बाहिर निस्कन लेनिनवादी संगठनात्मक पुनर्संरचना अपरिहार्य बनेको छ ।
४.पार्टी केन्द्रित नेतृत्व र कमरेड प्रचण्डको ऐतिहासिक जिम्मेवारी
यो लेख व्यक्ति–केन्द्रित होइन, संस्था–केन्द्रित हो। तर पार्टी नेतृत्वको भूमिका अलग गरेर विचार गर्नु असम्भव छ । नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका कमरेड प्रचण्डले नेपाली क्रान्तिकारी आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका छन्—जनयुद्धको नेतृत्वदेखि गणतान्त्रिक राजनीतिको संस्थागत चरणसम्म ।
आजको सन्दर्भमा कमरेड प्रचण्डको मुख्य भूमिका भनेको पार्टीलाई वैचारिक, संगठनात्मक र क्रान्तिकारी रूपमा पुनः सुदृढ बनाउनु हो । यो भूमिका व्यक्तिगत करिश्मा, सत्ता पहुँच वा तात्कालिक राजनीतिक सम्झौताबाट होइन, लेनिनवादी विधि, सामूहिक नेतृत्व, आलोचना–आत्मालोचना र संस्थागत निर्णय प्रणाली मार्फत पूरा हुन सक्छ। जब नेतृत्व स्वयं संगठनात्मक अनुशासनमा बाँधिन्छ, तब पार्टीका तल्ला तहसम्म त्यसको प्रभाव देखिन्छ ।
लेनिनवादी संगठनात्मक सिद्धान्तको अक्षरशः कार्यान्वयन किन अनिवार्य छ ?
नेपाली समाज अझै पनि अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक विशेषताबाट पूर्ण रूपमा मुक्त भएको छैन। साम्राज्यवादी हस्तक्षेप, दलाल पूँजीवाद, नोकरशाही भ्रष्टाचार र वर्गीय शोषण कायम नै छन्। यस्तो अवस्थामा समाजवादी क्रान्तिको नेतृत्व गर्न ढुलमुल, अवसरवादी र अनुशासनहीन पार्टीले सक्दैन ।
लेनिनवादी संगठनात्मक सिद्धान्तको अक्षरशः कार्यान्वयनले मात्र पार्टीलाई वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा मजबुत, कार्यशैलीमा क्रान्तिकारी, र जनताप्रति उत्तरदायी बनाउँछ । निर्णय र कार्यान्वयनबीचको खाडल हटाउन, नेतृत्व र कार्यकर्ताबीचको दूरी कम गर्न, र पार्टीलाई सत्ताको साधन होइन समाज रूपान्तरणको औजार बनाउन यो अनिवार्य शर्त हो ।
५.नेपाली विशेषताको समाजवादी गणतन्त्रः सिर्जनात्मक वाटो
समाजवाद कुनै आयातित मोडेल होइन। नेपालमा समाजवाद निर्माण गर्दा यहाँको भूगोल, बहुजातीय समाज, सांस्कृतिक विविधता, ऐतिहासिक अनुभव, जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरूलाई आधार बनाउनुपर्छ । त्यसैले लक्ष्य हो—नेपाली विशेषताको समाजवादी गणतन्त्र ।
यसका लागि राजनीतिक लोकतन्त्रलाई आर्थिक लोकतन्त्रमा रूपान्तरण गर्न, उत्पादनका साधनमाथि जननियन्त्रण स्थापित गर्न, सार्वजनिक–सहकारी–सामुदायिक क्षेत्रलाई सुदृढ बनाउन र सामाजिक न्यायलाई राज्य संरचनाको मूल आधार बनाउन आवश्यक छ। यी सबै कार्यभार पूरा गर्न संगठित, अनुशासित र लेनिनवादी पार्टीको विकल्प छैन ।
६.निष्कर्षः
समाजवादको कुरा गर्नु आजको विश्व सन्दर्भमा सजिलो छैन। तर वर्गीय शोषण, असमानता र अन्यायको अन्त्यका लागि समाजवाद अपरिहार्य विकल्प हो। नेपाली कम्युनिस्ट पार्टीसँग यसको वैचारिक आधार, ऐतिहासिक अनुभव र जनसम्बन्ध छ। अब आवश्यकता छ–लेनिनवादी संगठनात्मक सिद्धान्तलाई अक्षरशः लागू गर्ने साहस ।
यस प्रक्रियामा माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा प्रचण्डको नेतृत्व भूमिका सशक्त र सहि नेतृत्व हुन्छ, तर निर्णायक कुरा भनेको पार्टी स्वयं एक सशक्त, अनुशासित र क्रान्तिकारी संस्थाका रूपमा स्थापित हुनु हो। यही पार्टीले मात्र आगामी समाजवादी क्रान्तिको सही नेतृत्व गर्दै नेपाली समाजलाई नेपाली विशेषताको समाजवादी गणतन्त्रतर्फ अग्रसर गराउन सक्छ ।



लाइभदाङ । २२ पुष २०८२, मंगलवार १४:१८ बजे