सामाजिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप

सामाजिक संघसंस्थाहरुको निर्वाचन भइरहेका छन् – त्यो पनि दलिय आवरणमा । उद्योग, ब्यापारीहरुमात्रै होईन्, खानेपानी, विद्यालय, मन्दिर जस्ता सम्वेदनशील क्षेत्रमा समेत राजनीतिक आवरणमा निर्वाचन हुने गर्छन् । जबसम्म यी क्षेत्रमा राजनीतिक आवरण पाइरहन्छन्, ति क्षेत्रको सुधार हुन सक्दैन । भागवण्डाका आधारमा राजनीतिक दलहरुले सामाजिक संघसंस्थाहरुमा नेतृत्व लिने होडवाजी हुने गरेको छ । जसले गर्दा ति सामाजिक संस्थाहरुको मर्म माथि आँच पुग्ने गरेको छ ।

सामाजिक संघसंस्थाहरु भनेको समाज विकासको एउटा आधार हो । शैक्षिक संस्थाको विकास भएमा त्यहाँको मानिशको शैक्षिक चेतनास्तर बृद्धि हुने हो । शिक्षा एउटा राजनीतिक दल वा ब्यक्तीलाई मात्रै चाहिने कुरा होईन । स्वास्थ्य, खानेपानी कुनै एउटा राजनीतिक दललाई मात्रै चाहिने कुरा पनि होईन् । यो आम रुपमा सबैलाई चाहिने कुरा हो । यस्तो ठाउँमा कुनै राजनीतिक दलको आडका आधारमा क्षमताहीन मान्छेलाई ल्याउदा त्यसले समग्रमा नै असर गर्छ । सामाजिक संस्थामा सकेसम्म साझा ब्यक्ती ल्याउँदा उत्तम हुन्छ । यदि त्यसो हुन सकेन भनेपनि राजनीतिक दल भित्रका क्षमतावान मान्छे चाहिन्छ । विषयसयंग सम्बन्धित तथा सकेसम्म त्यो क्षेत्रमा अनुभवी मान्छे ल्याउँदा त्यसले कुनै पनि सामाजिक संस्थामा गति दिन सक्छ ।


व्यक्तीवादी सोँच राख्दा सामाजिक संघसंस्थाहरु ध्वस्त हुने अबस्थामा छन् । सामाजिक रुपमा चरित्रहीन, समाजले बहिस्कार गरेका मान्छेहरुलाई समेत राजनीतिक दलहरुले आडदिने प्रचलन अन्त्य हुनुपर्छ । मानिस सचेत भइसकेका छन् । कुनै पनि राजनीतिक दलको आड हुँदैमा उसलाई विश्वास गरिहाल्ने अबस्था पनि छैन । समाजको राम्रो, सभ्य मानिस रोज्न सक्ने क्षमता आम नागरिकमा छ । त्यसैले सामाजिक संघसंस्था होस्, वा हरेक क्षेत्रमा सामाजिक ब्यक्तीनै अगाडी सार्नुपर्छ । त्यति मात्रै होईन्, राजनीतिक दलहरु पनि सामाजिक हुनुपर्छ । कुनै पार्टीका कार्यक्रममा बाहेक समाजलाई पर्ने हरेक अफ्टेरो परिस्थितिमा जुध्न सक्ने ब्यक्ती भएमा मात्रै जनताले विश्वास गर्नेछन् । साभारः अग्रिम साप्ताहिक