कम्युनिष्टहरूः सच्चिने कि सकिने?

कपिल खड्का
दाङ,११ चैत ।
“सुशासन र नैतिकताको प्रश्न पनि उत्तिकै गम्भीर छ । कम्युनिष्ट आन्दोलनले सधैं भ्रष्टाचारविरुद्धको आवाज उठायो, तर आज त्यही आन्दोलनभित्र नै अनियमितता, अवसरवाद र शक्ति दुरुपयोगका आरोपहरू देखिन्छन् ।”

कपिलदेव
नेपालको राजनीतिक इतिहासमा कम्युनिष्ट आन्दोलन कुनै सामान्य धारा होइन; यो सामाजिक परिवर्तन, वर्ग संघर्ष र समानताको लागि गरिएको लामो संघर्षको परिणाम हो । एक समय यस्तो पनि थियो, जब नेपालमा कम्युनिष्ट शक्तिहरूको जनमत ६७ प्रतिशतभन्दा बढी पुगेको थियो। त्यो अवस्था केवल चुनावी आँकडा मात्र थिएन, त्यो जनताको आशा, भरोसा र परिवर्तनको आकांक्षाको प्रतिनिधित्व थियो। तर आजको यथार्थ बिल्कुलै फरक छ । प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिक मत परिणाम हेर्दा कम्युनिष्ट र कम्युनिष्ट पृष्ठभूमिका पार्टीहरूको संयुक्त मत २३,९८,७६७ मा सीमित भएको छ ।

यो तथ्यले एउटा गम्भीर प्रश्न खडा गर्छ—के कम्युनिष्ट आन्दोलन आफ्नो ऐतिहासिक उचाइबाट पतनतर्फ उन्मुख छ?
पहिलो कुरा, आजको संकट आकस्मिक होइन । यो लामो समयदेखि थुप्रिँदै आएको वैचारिक विचलन, संगठनात्मक विखण्डन र नेतृत्वको असफलताको परिणाम हो । कम्युनिष्ट आन्दोलनको मूल शक्ति यसको सिद्धान्तमा आधारित एकता र वर्गीय दृष्टिकोण थियो । तर आज त्यो स्थान व्यक्तिगत महत्वाकांक्षा, गुटबन्दी र सत्ताकेन्द्रित राजनीतिले लिएको छ । परिणामस्वरूप, एउटै विचारधाराबाट प्रेरित पार्टीहरू टुक्रिएर साना–साना समूहमा विभाजित भएका छन् ।

आजको यथार्थ हेर्दा यस्तो लाग्छ कि कम्युनिष्ट आन्दोलनले आफ्नो मूल बाटो बिर्सिएको छ । समाजवादको लक्ष्यलाई केन्द्रमा राखेर जनताको जीवनस्तर सुधार गर्ने सट्टा, सत्ता प्राप्ति र त्यसको संरक्षण नै मुख्य उद्देश्य बनेको छ। यसले जनतामा निराशा पैदा गरेको छ ।

दोस्रो कुरा, “नाङ्ले पसल” जस्तो देखिने साना–साना पार्टीहरूको उचयषिभचबतष्यल ले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ । एउटै विचार बोकेका दर्जनौं पार्टीहरू हुनु आफैँमा समस्या होइन, तर जब ती पार्टीहरूबीच कुनै सहकार्य, समन्वय वा साझा लक्ष्य हुँदैन, तब त्यो विखण्डन आन्दोलनको पतनको कारण बन्छ ।

समानुपातिक मत परिणामले देखाउँछ कि कम्युनिष्ट मत विभाजित भएर कमजोर बनेको छ । यदि यी मतहरू एकीकृत भएको भए, आजको राजनीतिक समीकरण पूर्ण रूपमा फरक हुन सक्थ्यो । तर विडम्बना के छ भने, नेतृत्व तहले यो यथार्थलाई स्वीकार गर्न सकेको छैन ।

तेस्रो कुरा, नयाँ पुस्तासँगको सम्बन्ध कमजोर हुनु पनि कम्युनिष्ट आन्दोलनको पतनको मुख्य कारण हो। आजको युवा पुस्ता केवल नारा र इतिहासले प्रभावित हुँदैन; उनीहरू परिणाम खोज्छन्, अवसर खोज्छन् र पारदर्शिता खोज्छन्। तर कम्युनिष्ट पार्टीहरू अझै पनि पुरानो शैलीको राजनीति, भाषण र संरचनामा सीमित छन् ।

युवालाई नेतृत्वमा ल्याउने कुरा धेरै भनिन्छ, तर व्यवहारमा त्यो लागू भएको देखिँदैन । नेतृत्व हस्तान्तरणको प्रक्रिया प्रतिस्पर्धात्मक र पारदर्शी हुनुको सट्टा बन्द कोठामा सीमित छ। यसले युवामा निराशा र विमुखता बढाएको छ ।

चौथो कुरा, वैचारिक स्पष्टताको अभावले पनि आन्दोलनलाई कमजोर बनाएको छ । आज “समाजवाद” शब्द धेरै प्रयोग हुन्छ, तर यसको स्पष्ट परिभाषा, कार्यदिशा र कार्यक्रम देखिँदैन । वैज्ञानिक समाजवादको नाम लिइन्छ, तर व्यवहारमा नवउदारवादी नीतिहरू अपनाइन्छन् ।

यो द्वन्द्वले जनतामा भ्रम सिर्जना गरेको छ । जनताले सोधिरहेका छन्–यदि कम्युनिष्ट र गैर–कम्युनिष्ट नीतिमा कुनै फरक छैन भने, किन कम्युनिष्टलाई रोज्ने ?


पाँचौं कुरा, सुशासन र नैतिकताको प्रश्न पनि उत्तिकै गम्भीर छ । कम्युनिष्ट आन्दोलनले सधैं भ्रष्टाचारविरुद्धको आवाज उठायो, तर आज त्यही आन्दोलनभित्र नै अनियमितता, अवसरवाद र शक्ति दुरुपयोगका आरोपहरू देखिन्छन् ।

जब आन्दोलनले आफ्नो नैतिक आधार गुमाउँछ, तब त्यसले जनताको विश्वास पनि गुमाउँछ । विश्वास गुमाउनु भनेको राजनीतिक रूपमा समाप्त हुनु हो ।
यस सन्दर्भमा अब कम्युनिष्ट आन्दोलनको अगाडि स्पष्ट दुई विकल्प छन–“सच्चिने कि सकिने?”

यदि सच्चिने हो भने,
पहिलो कदम एकता हुनुपर्छ । विचारधारात्मक आधारमा, स्पष्ट कार्यदिशा र कार्यक्रमसहित एउटा सशक्त, एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्छ । यो एकता केवल नेतृत्व तहको सहमति मात्र नभई, कार्यकर्ता र जनतासम्म पुग्ने गरी हुनुपर्छ ।

दोस्रो कदम, नेतृत्वमा आमूल परिवर्तन आवश्यक छ । नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ, र त्यो प्रक्रिया खुला प्रतिस्पर्धामा आधारित हुनुपर्छ। योग्यता, क्षमता र प्रतिबद्धताको आधारमा नेतृत्व चयन हुने व्यवस्था विकास गर्नुपर्छ ।

तेस्रो कदम, स्पष्ट वैचारिक र कार्यक्रमिक आधार तयार गर्नुपर्छ । समाजवादको नेपाली मोडेल के हो? उत्पादन, वितरण र राज्यको भूमिका कस्तो हुने? शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका क्षेत्रमा के नीति हुने ? यी सबै प्रश्नहरूको स्पष्ट उत्तर दिन सक्ने कार्यक्रम आवश्यक छ ।

चौथो कदम, संगठनात्मक सुधार अपरिहार्य छ । पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्नुपर्छ । गुटबन्दी, व्यक्तिवाद र अवसरवादलाई नियन्त्रण गर्न कडा अनुशासन लागू गर्नुपर्छ ।

पाँचौं कदम, जनतासँग प्रत्यक्ष सम्बन्ध पुनःस्थापित गर्नुपर्छ । जनताको समस्या बुझ्ने, त्यसको समाधानका लागि काम गर्ने र परिणाम दिने राजनीति मात्र दीर्घकालीन रूपमा सफल हुन्छ ।

अन्ततः, कम्युनिष्ट आन्दोलनको भविष्य यसको आत्मसमीक्षामा निर्भर छ। यदि आन्दोलनले आफ्नो कमजोरी स्वीकार गरेर सुधारको बाटो रोज्छ भने, पुनः उचाइमा पुग्न सक्ने सम्भावना अझै बाँकी छ । तर यदि यही अवस्था जारी रह्यो भने, इतिहासले कम्युनिष्ट आन्दोलनलाई एउटा अधुरो सम्भावनाको रूपमा मात्र सम्झिनेछ ।

आजको सन्देश स्पष्ट छ–समय धेरै छैन। अवसर अझै बाँकी छ, तर त्यो सधैंका लागि रहने छैन त्यसैले, कम्युनिष्टहरूका लागि अब एउटै प्रश्न बाँकी छ–
“सच्चिने कि सकिने?”