
दाङ तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र राप्ती अञ्चल हाल पाँच नम्बर प्रदेशको सबैभन्दा सुगम एवं विकसित जिल्ला हो ।
यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश, पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला , उत्तरमा सल्यान , प्युठान, रोल्पा र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन् । विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ । यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ । यस जिल्लाको पूर्व पश्चिम लम्बाई ९० किलोमिटर र उत्तर दक्षिण चौडाइ ७२ किलोमिटर छ ।
यस जिल्लामा कूल २ उपमहानगरपालिका १ नगरपालिका एवम ७ गाउँपालिका छन् । यस जिल्लाको सबैभन्दा कम उचाइ भएको ठाउँ सिसहनियाको भानपुर हो, जुन समुद्र सतहदेखि २१३ मिटर उचाइमा रहेको छ । त्यस्तै यस जिल्लाको सबैभन्दा अग्लो उचाइमा रहेको ठाउँ हाँसीपुर पर्ने अर्खले हो, जुन समुद्र सतहदेखि २०५८ मिटरको उचाइमा रहेको छ । भित्री मधेशमा पर्ने यो उपत्यका उत्तरमा महाभारत र दक्षिणमा चुरे पहाडले घेरिएको छ ।
दाङ दक्षिण एसियाकै ठूलो उपत्यका हो । दाङ देउखुरीमा उल्लेख्य संख्यामा थारुहरू बस्दछन् । पहिले औंलो लाग्ने भएकोले दाङमा थारुहरूको मात्र बस्ति थियो तर औलोको औषधी हुन थालेपछि विभिन्न जातका मान्छेहरू बसाइ सरे । बसाइ सर्नेहरूलाई साधारणतया पहाडी वा पहाडिया भन्ने गरिन्छ ।
अहिले दाङ देउखुरीमा थारुहरू अल्पसंख्यकमा पर्दछन् । कतिपय मानिसहरू दाङ देउखुरीमा पहिले थारु राज्य थियो भन्दछन् । दाङ जिल्लाका प्रमुख पर्यटकीय स्थानका रूपमा राप्ती शान्ति उद्यान, बुद्ध चमेरे गुफा, त्रिसिद्धेश्वरी मन्दिर, बाह्रकुने दह आदि पर्दछन् ।
हापुर रतनपुर बगिया निवासी टेकनाथ गौतमका अनुसार दाङ देउखुरी जिल्ला भन्नाले दाङ र देउखुरी दुबै उपत्यका र पानी ढली बुझिन्छ । पहाडका मैदानलाई बुझाउने संस्कृतको ‘द्रोण’ शब्दबाट दाङ र पहिलो बस्ती दवपुरबाट देवपुरी भन्दा भन्दै देउखुरी बनेको हो ।
पश्चिम–दक्षिणबाट यहाँ आइ पहिले बस्ने जाति थारु हुन् । ती पछि बाहुन र अनि पछि अरु जातिका पहाडबाट यहाँ आई बसेको बुझिन्छ । २०१४ सालसम्म यहाँ बढी संख्या थारुको, दोस्रो बाहुनको र अनि अरु जातको थियो। नयाँ जमिन आवाद गर्न पाइने व्यवस्थाले बढी संख्यामा थारुहरू नयाँ मुलुकतर्फ सर्न लागे ।
बिर्ता उन्मुलन तथा भूमिसुधार थोरै समयका अन्तरालमा भएको हुनाले थारुहरूले बाहुनलाई धमाधम जमिन बेच्न लागे । त्यसैबेला दाङबाट औलो उन्मूलन गरियो । औलोको डर रहेकोले थारुले छाडेको जमीनमा पहाडबाट मानिसको ओइरो लाग्यो। फलस्वरूप थारुहरूको संख्या घट्दै गयो ।
अघिदेखि दाङको उत्तरी काँठ पहाडी राजाहरूका अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो । बिक्रमको चौधौँ शताब्दीको आखिरतिर यो जुम्लाको अधिनमा थियो । विसं १४८० तिर सवारीकोटका राजा रतन पाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भए ।
केही समयपछि उनले बझाङबाट राजकुमार झिकाई आफ्ना ठाँउमा राजा बनाएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे । रतननाथले छाड्दा दाङ राज्यको विस्तार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसीपुर भनिने इलाकामा पनि थियो । नेपालको एकिकरणका बेला सम्वत १८४३ मा दाङका राजा नवल सिंहले तापाका लडाईमा विरगति प्राप्त गरे ।
पछि उनका राजकुमार दिलेर सिंहले पूरा दाङ देउखुरीको रक्षा गर्न सकेनन् । आफ्नो आधा राज्य तुलसीपुरको तराई मात्र बचाई त्यहीका मात्र राजा भै बसे । गोर्खालीले जितेको दाङको देउखुरी पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए।
विसं १८६५ मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ देउखुरी पनि नेपालमा मिल्यो । विसं १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजा बंशज तेजबहादुर शाहलाई राजा पद र पश्चिमी दाङ फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ देउखुरी खण्डीत भयो ।
नेपाल एकिकरण पश्चात दाङ देउखुरी सल्यान गौंडाका मातहतमा थियो । विसं १९३८ सालमा दाङको मैदानी भागलाई तौलिहवा गोश्वाराका, १९९६ सालमा भैरहवा गोश्वाराका २००३ सालमा नेपालगंज गोश्वाराका मातहतमा गराइएको थियो ।
२००७ सालसम्म यहाँ माल, अदालत, हुलाक, इन्सपेक्टर अफिस मात्र थिए । २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम रहन थाले । २०१७ सालमा राप्ती अञ्चलको सदरमुकाम दाङ देउखुरी मानिएपछि यहाँ अञ्चलाधिस रहन थाले ।
फलावाङ राज्य विस २०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र अघिदेखि सल्यानतर्फ रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङ देउखुरीमा मिलेपछि दाङ देउखुरी आजको अवस्थामा आयो ।
दाङ उपत्यका
दाङ उपत्यकाको मुख्य नदी बबई हो र दाङको भुगोल बबई उपत्यका भनेर पनि चिनिन्छ । स्योरलगायतका अन्य साना ठूला खोला नदीहरू पनि यो उपत्यकामा प्रवाहीत हँुदै वहने गर्दछन । दाङमा पर्ने यो सबै भन्दा ठूलो उपत्यका सम्पूर्ण राप्ती अञ्चलकै अन्न भण्डारको रूपमा रहेको छ ।
खासगरि घोराही र तुलसीपुरले राप्तीका सम्पूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन् । नेपालको दोस्रो पुरानो नेपाल संस्कृत विश्वविद्यालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस घोराही तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेकाले यो उपत्यका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा, स्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
विकासिल भएर पनि साबिक राप्ती अञ्चल र पश्चिम नेपाल र राप्ती अञ्चलको बिकसीत जिल्लाका रुपमा दाङलाई गनिन्छ । सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने लमही बजार अवस्थीत महेन्द्र राजमार्गसँग एक पक्की सहायक राजर्मागले जोड्दै घोराहीदेखि तुल्सीपुरसम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवा प्रदान गर्दछ । साथमा दाङ राप्ती अञ्चलको पहाडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो । रोल्पा, रूकुम, प्युठान, सल्यानसंग यस उपत्यकाको घोराही उपमहानगर र तुलसीपुर उपमहानगरको सम्पर्क रहेको छ । त्यसै गरी घोराहीदेखि सुर्खेत वीरेन्द्रनगरसम्म अर्को सडक खनिएको छ ।
देउखुरी उपत्यका
पश्चिम नेपालमा राप्ती उपत्यकाको रूपमा चिनिने देउखुरी उपत्यकाको मुख्य नदी राप्ती नदी नै हो । अन्य साना ठूला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बाहिर निस्केर राप्ती मै मिलदछन् । दाङ उपत्यकाको पूर्व तथा दक्षीणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनीएको छ ।
राप्ती नदीले चिरेर गएको यो उपत्यकालाई नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्दै गएकाले शिक्षा स्वास्थ्यको पनि विकास हुँदैछ । साथै लमही, भालुवाङ तथा कुसुम जस्ता वाणीज्य केन्द्रको पनि विकास हुँदै गइरहेको छ।
भौगोलिक अवस्थिति
अक्षांश ः २७।३७ उत्तरदेखि २८.२९ उत्तरसम्म
देशान्तर ः ८२.२ पूर्व देखि ८२.५४ पूर्वसम्म
सिमाना ः पूर्व कपिलवस्तु अर्घाखाँची र प्युठान, पश्चिम बाँके र सुर्खेत, उत्तर सल्यान र रोल्पा, दक्षिण भारतको उत्तर प्रदेश
प्रमुख नदीहरू ःराप्ती,बबई,ग्वार खोला
प्रमुख तालहरू ः बाह्रकुने दह, चरिङ्गे दह, ज्यामिरे ताल, तत्व, भोटे दह, जखेरा ताल, पुरन्धारा झरना, धागेछहरा आदि ।
धार्मिक तथा पर्यटकीय क्षेत्र
एसियाकै अग्लो त्रिशूल भएको धारापानीमा रहेको पाण्डवेश्वर महादेवको मन्दिर, एसियाकै ठूलो उपत्यका, राप्ती शान्ति उद्यान, बुद्ध चमेरे गुफा, चौघेरा रत्ननाथ मन्दिर, अम्बिकेश्वरी मन्दिर, धारपानी मन्दिर, बराह मन्दिर, गढीटाकुरा मन्दिर, कालिका–मालिका, सुदय रामेश्वर मन्दिर, बगारबाबा मन्दिर, रिहार, देवीकोट मन्दिर,मन्थोर्या मन्दिर आदि ।
व्यापारिक महत्वका स्थानहरू
घोराही, तुलसीपुर, लमही, गढवा, भालुबाङ, नारायणपुर, कोइलाबास, हापुरे, पर्सेनी आदि । साभार : अग्रिम साप्ताहिक




लाइभदाङ । १ पुष २०७८, बिहीबार १०:२५ बजे