सामुदायिक क्याम्पसलाई राज्यले विशेष सम्बोधन गर्नुपर्छः उपकुलपति अर्याल

तुलसीपुर, ६ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले सामुदायिक क्याम्पसहरु राज्यका सम्पति भएको बताएका छन् । दाङको तुलसीपुरमा शुक्रबारदेखि दाङको तुलसीपुरमा सुरु भएको अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सामुदायिक क्याम्पसहरुलाई राज्यतहबाट विशेष सम्बोधन गर्नुपर्ने बताए । राप्ती बबई क्याम्पस तुलसीपुरको आयोजनामा सुरु भएको दुई दिने अनुसन्धानमूलक राष्ट्रिय सम्मेलनमा उनले भने “ देश भर सञ्चालन भएका सामुदायिक क्याम्पसहरु राज्यका सम्पति हुन, सामुदायिक क्याम्पसहरूको संरक्षण र उत्थान गर्नु सिंगो समुदाय र राज्यकै जिम्मेवारी हो ।”

राप्ती बबई क्याम्पसले क्यूएए सटिफिकेट प्राप्त गरि रहेकाले यसलाई नविकरण गर्न यस सम्मेलनले थप मद्दत पुग्ने समेत उनको भनाई थियो । कार्यक्रममा बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उच्च शिक्षाका लागि विद्यार्थीहरु बाहिर जाने परम्परा अन्त्य गर्न आबश्यक रहेको बताए ।


कार्यक्रममा राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धेले दाङ र आसपासमा अनुसन्धानको क्षेत्रमा ठुलो उपलब्धि हुन नसकिरहेको भन्दै यो सम्मेलनले अनुसन्धानको कार्यक्रममा प्रभाबकारी भूमिका निर्वाह गर्ने बताए । सम्मेलनमा देशका विभिन्न बिश्वबिद्धालयका अनुसन्धानकर्ताका साथै अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय र भारतका प्रतिष्ठित प्राज्ञिक वक्ताको सहभागिता रहेका छन् । अनुसन्धानमूलक सम्मेलनले आगामी दिनमा अनुसन्धानको क्षेत्रमा थप टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ । शिक्षा, विज्ञान र प्रविधि, नेपाली र अंग्रेजी भाषालगायतका क्षेत्रको अनुसन्धान हुने सम्मेलनमा विद्यालयमा पढाइरहेका शिक्षक, समाजका प्रमुख व्यक्ति, स्नातकोत्तर गरिरहेका विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । दाङलाई शैक्षिक हब बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा महेन्द्र बहुमुखि क्याम्पसका प्रमुख डा। नारायण पन्थी, लुम्विनी वाणिज्य क्याम्पसका प्रमुख प्रा।डा ताराप्रसाद उपाध्याय, ज्ञानज्योति फाउण्डेसनका सिइयो सुरेन्द्र जिसी, गोरखा माविका प्राचार्य विजय जिएम, सम्मेलन आयोजक समितिका संयोजक डा। प्रेम योगीलगायतले बोल्नुभएको थियो । क्याम्पस प्रमुख गणेश पार्थेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रचार प्रसार समितिका सदस्य सहायक प्राध्यापक चमन धितालले गरेका थिए ।