राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

दाङ, १२ माघ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। बुधबार दाङको घोराहीमा भएको निर्वाचनको मतपरिणामअनुसार नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) को तर्फबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्मा विजयी भएका हुन्।

महिलातर्फका उम्मेदवार गैरेले प्रदेशतर्फ २,१६० र स्थानीय तहतर्फ १,५८४ गरी जम्मा ४,३७४ मतभार प्राप्त गरेकी थिइन् भने अन्य समुदायका शर्माले प्रदेशतर्फ २,११२ र स्थानीय तहतर्फ २,२३२ गरी जम्मा ४,३४४ मतभार र दलित समुदायका विश्वकर्माले प्रदेशतर्फ २,१६० र स्थानीयतर्फ २,१९६ गरी जम्मा ४,३५३ मतभार प्राप्त गरी विजयी भएका हुन्।


त्यस्तै, एमालेको तर्फबाट अन्य समुदायका दाङ घोराहीका रामदयाल गुप्ताले प्रदेशतर्फ १,७७६ र स्थानीयतर्फ १,६०२ गरी ३,३७८ मतभार, महिलातर्फका बाँकेकी भारती खनाल उपाध्यायले प्रदेशतर्फ १,७२८ र स्थानीयतर्फ १,५८४ गरी जम्मा ३,३१२ मतभार र गुल्मीका कृष्ण सुनारले प्रदेशतर्फ १,७२८ र स्थानीयतर्फ १,६२० गरी जम्मा ३,३४८ मतभार प्राप्त गरेका थिए।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चारवर्षे कार्यकाल सकिँदै छ। संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गरी सक्नुपर्ने व्यवस्था गरेको छ।