नसर्ने रोग सम्बन्धी अभिमुखिकरण सम्पन्न

प्रिया स्मृती गजमेर
देउखुरी, १४ फागुन।
“मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ लमही नगरपालिका भित्र रहेका लमही अस्पताल, विभिन्न स्वास्थ्य चौकी तथा नगर स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण प्रशिक्षण प्रदान गरिएको छ ।

नसर्ने रोगहरुको पहिचानका लागि सञ्चालन गरिने स्कृनिङ अभियान सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा रक्तचाप परीक्षण, उचाइ तथा तौलको आधारमा स्वास्थ्य परीक्षण, ब्लड सुगर परीक्षण, पिसाब परीक्षणमार्फत मृगौला सम्बन्धि रोगको जाँच लगायतका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा नसर्ने रोगको समयमै पहिचान र नियन्त्रणका उपायबारे समेत जानकारी गराइएको थियो ।

स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माका अनुसार फागुन २६ गते वडा नम्बर १ को कार्यालयबाट सुरु हुने अभियान २७ गते सोनपुर स्वास्थ्य चौकी, २८ गते वडा नम्बर ३ को कार्यालय, २९ गते सेम्रहवा नगर स्वास्थ्य केन्द्र, ३० गते आदर्श नमूना माध्यमिक विद्यालय देउपुर, चैत्र १ गते मध्यनगर नगर स्वास्थ्य केन्द्र, २ गते कोलही नगर स्वास्थ्य केन्द्र, ३ गते वनगैं नगर स्वास्थ्य केन्द्र, ४ गते वडा नम्बर ७ को वडा कार्यालय, ५ गते सतबरिया स्वास्थ्य चौकी, ६ गते वडा नम्बर ९ को कार्यालय र चैत्र ७ गते अमिलिया नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिनेछ ।

नगरप्रमुख जोगराज चौधरीले नसर्ने रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै समुदायस्तरमै नियमित परीक्षण र जनचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।


उपप्रमुख लक्ष्मी योगीले नसर्ने रोगहरू अहिले समुदायस्तरमै बढ्दो समस्याका रूपमा देखापरेको उल्लेख गर्दै समयमै परीक्षण र सचेतना नै यसको रोकथामको प्रभावकारी उपाय भएको बताउनुभयो । उहाँले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नारालाई व्यवहारमा उतार्दै प्रत्येक नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गर्न प्रेरित गर्नुपर्ने धारणा राख्नुभयो । स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा पुगेर प्रभावकारी रूपमा स्कृनिङ अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै नसर्ने रोग पहिचान र नियन्त्रणका लागि आवश्यक समन्वय, स्रोत र व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अभिमुखिकरणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले वडास्तरमै स्वास्थ्य सचेतना कार्यक्रमहरूलाई सशक्त रूपमा अगाडि बढाइने बताउँदै स्कृनिङ अभियानलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नागरिकको स्वास्थ्य अवस्था पहिचान गरी समयमै उपचारको पहुँचमा ल्याउनु स्थानीय तहको दायित्व भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नारायण प्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियो । अभिमुखिकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य लिला शाह, लमही नगरपालिकाका कार्यपालिका सदस्य सुनिता चौधरी र देवा परियारको उपस्थिति रहेको थियो ।