
दाङ, २३ माघ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ७२ घण्टाअगावै बन्द हुने भएको छ । शुक्रबार मोरङ जिल्लाको विराटनगरमा सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बल (एसएसबी) बिचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकमा सो निर्णय भएको हो ।
बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार नियन्त्रणलगायत विषयमा छलफल भएको थियो।
साथै, सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपत् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबिच छलफल भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिए।
त्यसैगरी सीमा क्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुन सक्ने खतरा मूल्यांकन गर्ने, शरणार्थी–आप्रवासीहरूको गतिविधिउपर निगरानी राख्ने, विभिन्न तह बनाई चेकप्वाइन्ट र ब्यारियर खडा गर्ने, आपराधिक तत्त्वहरूबाट हुन सक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ बिक्री–वितरण र सेवनमा पूर्णतः बन्देज गर्नेलगायत विषयमा समेत छलफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबिचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गरेका थिए। भारतीय एसएसबीका डिआइजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षक महानिरीक्षकहरू अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह, कृष्ण ढकाल र मनीष थापालगायत भारतीय एसएसबीको तर्फबाट डिआइजी सरोजकुमार थाकुर, मन्जित सिंह, सुरेश सुब्रमनिम, राजेश टिक्कु र मनीष कुमारको समेत उपस्थिति थियो।



लाइभदाङ । २४ माघ २०८२, शुक्रबार २०:३५ बजे