
विराज पौडेल
दाङ,१८ पुस ।
नेपालको राजनीतिमा रवि लामिछाने र बालेन्द्र शाह फरक–फरक पृष्ठभूमिबाट उदाएका पात्र हुन् । यात्रा फरक भए पनि दुवैप्रति जनताको चासो, आकर्षण र अपेक्षा भने उस्तै देखिन्छ । पुरानो राजनीतिक अभ्यासबाट निराश भएका नागरिकले यी दुईलाई सम्भावनाका रूपमा हेरेका छन् । त्यसैले उनीहरूबीच देखिएको नजिकिँदो सम्बन्धलाई धेरैले सकारात्मक रूपमा लिएका छन्, जो स्वाभाविक पनि हो ।
तर राजनीति केवल चर्चित अनुहारहरू एक ठाउँमा उभिनु मात्र होइन । यहाँ निर्णायक कुरा भावना होइन, सिद्धान्त हुनुपर्दछ । भावना क्षणिक हुन्छ—आज बलियो, भोलि कमजोर । इतिहासले पटक–पटक देखाइसकेको छ, भीडको ताली स्थायी हुँदैन ।
हाल देखिएको रवि–बालेनको सहकार्य धेरै हदसम्म भावनात्मक सहमतिमा आधारित देखिन्छ । यसमा अस्वाभाविक केही छैन । तर यति मात्र पर्याप्त पनि हुँदैन । यदि यस सहकार्यमा साझा विचार, स्पष्ट नीति र एउटै दिशाको दीर्घकालीन सोच जोडिएन भने, यो एकता समयसँगै कमजोर हुँदै जान सक्छ ।
यसको उदाहरण धेरै टाढा खोज्नुपर्दैन । केही समयअघि रवि लामिछाने जेनजी आन्दोलनको क्रममा जेलबाट बाहिर निस्कँदा, त्यही आन्दोलनको नाममा सडकमा उत्रिएका केही युवाले उनीविरुद्ध कडा नाराबाजी गरे । सामाजिक सञ्जालमा आलोचना चुलियो, गालीसम्म भयो । त्यही भीडभित्रका धेरैले उनलाई अस्वीकार गरे ।
तर समय धेरै बितेन । आज फेरि त्यही पात्रलाई “ठिकै हो”, “उम्मेदवार नेता हो”, “विकल्प हुन सक्छ” भनेर चित्रण गर्न थालिएको छ । न रवि एकै रातमा बदलिए, न देशको अवस्था नै । बद्लिएको त केवल भावना हो ।
यही हो भावनामा आधारित राजनीतिको सीमा । भीडको मनोविज्ञान चाँडै बदलिन्छ—आज समर्थन, भोलि विरोध । यस्तो उतार–चढावमा चल्ने राजनीतिले दिगो परिवर्तन दिन सक्दैन ।
यही सन्दर्भमा पुराना दलहरूको उदाहरण महत्वपूर्ण देखिन्छ । कांग्रेसभित्र गुट छन्, प्रतिस्पर्धा छन्, मतभेद छन् । तर ती सबैबीच एउटा साझा आधार छ—सैद्धान्तिक निरन्तरता । लोकतन्त्र, समावेशिता र राज्यको भूमिकाबारे साझा बुझाइ भएकै कारण पार्टीले अनेक संकट पार गर्दै आएको छ । कम्युनिष्ट पार्टीको सन्दर्भमा पनि त्यहि कुरा लागु हुन्छ ।
ती पार्टीहरुको आरोह अबरोह हेर्दा लोकपृय मत पनि पाए, अत्यन्त निराश हुने मत पनि पाए । तर उनिहरुको आन्तरिक संगठनको आधार सैद्धान्तिक भएका कारण फेरी धुलो टकटकाउँदै अघि बढिरहेका छन् । यदी उनिहरुको आधार भावना मात्र हुन्थ्यो भने, निराश मत आउँदा लथालिंग र लोकपृय मत आउँदा व्यवस्थापन गर्न नसक्दा भताभुंग हुने थिए ।
अहिले सक्रिय भएका र लोकपृयताको यात्रामा अगाडी बढेका नयाँ राजनीतिक शक्तिले ती दलहरुको इतिहासको अध्ययन गर्दै, उनिहरुको संगठनको आधारको पहिचान गर्दै क्रमशः पाठ सिक्दै अगाडी बढ्न जरुरी छ । केवल भ्रष्टाचारविरोधी भाषण, कडा अभिव्यक्ति वा व्यक्तिगत इमान्दारिताले मात्र देश चल्दैन । यो भावनाको पक्ष नेतृत्वमा चाहिन्छ पनि तर त्यो आफैमा पर्याप्त हुँदैन । देश कसरी चलाउने भन्ने सन्दर्भमा कुन विचार बोक्ने, कसका लागि राजनीति गर्ने र कुन नैतिक मूल्यमा चलाउने—यी प्रश्नमा स्पष्ट उत्तर बिना कुनै पनि एकता दीर्घकालीन हुँदैन ।
आजको पुस्ताले भावनात्मक नारा होइन, सिद्धान्तसहितको एकता खोजिरहेको छ । व्यक्तिको लोकप्रियता होइन, संस्थागत सोच खोजिरहेको छ । यदि रवि र बालेन साँच्चै फरक राजनीति दिन चाहन्छन् भने, उनीहरूको सहकार्य भावना होइन—विचार, नीति र मूल्यमा आधारित हुनुपर्छ ।
नत्र भने, आज बनेको यो सहकार्य पनि समयसँगै बदलिने भावनाको धारसँगै तरल बनेर बग्ने जोखिम सदा रहिरहनेछ ।
पौडेल जेनजी अभियन्ता हुन् ।



लाइभदाङ । १८ पुष २०८२, शुक्रबार ०७:३६ बजे