अदालतको बहस भन्दा कम थिएन ‘विद्यार्थीहरुको बहस’

 तुलसीपुर(दाङ), २१ माघ ।
दाङको तुलसीपुर स्थित मेट्रो कलेजमा कानुनमा स्नातक (विएएलएलवी) दोस्रो सेमेस्टरका विद्यार्थी तिलक रावतले वादीको तर्फबाट बसह गरिरहनु भएको थियो भने तेस्रो सेमेस्टरका विद्यार्थी इन्दू खत्री र पारश वलीले प्रतिवादीको तर्फबाट बहस गरिरहनु भएको थियो । श्रीमानले कपडा सिलाउने कैची प्रहार गरेर हत्या गरेको केशलाई आधार बनाएर विद्यार्थीहरुले वादी र प्रतिवादीका बीच बहस भयो ।
जसमा वादीले हत्या भएको भनि बहस गरिरहेका थिए, भने प्रतिवादीले लडेर मरेकाले भवितब्य घटना भएको भनि बसह गरिरहेका थिए । त्यसमा उनीहरुले बिभिन्न कानुनका बुदाहरु टेकेर गरिएको बहस कुनै अदालतमा गरिने बहस भन्दा कम थिएन ।

अदालतमा जसरी बहस गरिन्छ, त्यसरी नै कलेजका विद्यार्थीहरुलाई अभ्यास गराउन बहसको आयोजना गरिएको हो । जसमा इजलास अधिकृत दशौं सेमेस्टरका विद्यार्थी देविसरा वली र समय सूचक मालती श्रेष्ठ थिए । खासगरि कानुनका विद्यार्थीहरुलाई अदालती प्रक्रियाबाट प्रयोगात्मक अभ्यास गराउन कलेजले‘मुट कोर्ट’(अदालती अभ्यास) कार्यक्रममा विद्यार्थीहरुले यसरी वादी र प्रतिवादी भएर वहस गरेका हुन् । जसको मुख्य न्यायाधीशका रुपमा बरिष्ट अधिबक्ता यादप प्रसाद पौडेल, डिल्लीराज धिताल र मोहन धिताल हुनुहुन्थ्यो ।


विद्यार्थीहरुको त्यो बहस सुनेपछि उहाँहरुले फैसला सुनाउनुभएको थियो । प्रत्येक बर्ष मेट्रो कलेजले यसरी अदालती बहसप्रतियोगिताको आयोजना गर्ने गरेको छ । कलेज प्रमुख बसन्त आचार्यका अनुसार विद्यार्थीहरुलाई प्रयोगात्मक सीप बृद्धि गर्न यसरी बहसको आयोजना गर्ने गरिएको हो ।“कानुनका विद्यार्थीहरुलाई अदालतमा गरिने बहसका बारेमा जानकारी एकदमै अपरिहार्य हुन्छ”,उहाँले भन्नुभयो“त्यसैले हामीहरुले प्रत्येक बर्ष यसरी प्रतियोगिता नै आयोजना गर्छौं ।” कलेजमा हाल दुईसय ४० जना विद्यार्थी छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित उक्त कलेजमा विएएलएलविको पाँच बर्षे कार्यक्रम सञ्चालन भइरहेका छन् ।