दाङका साल वनमा देखिएको मौन संकट

दाङका विभिन्न सामुदायिक बनमा सालका रुखहरू अस्वाभाविक रूपमा पातविहीन हुँदै जानु सामान्य प्राकृतिक प्रक्रिया होइन । यो गहिरिँदो वातावरणीय संकटको संकेत हो। तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकासम्म फैलिएको यो समस्या पछिल्लो एक वर्षयता झनै गम्भीर बन्दै गएको छ। हरिया वन अचानक डडेलो लागेझैँ देखिनु स्थानीय बासिन्दाका लागि मात्र होइन, सम्पूर्ण राज्यका लागि चिन्ताको विषय हो।

डिभिजन बन कार्यालयका अनुसार ‘मथ’ पुतलीका लार्भाले सालका पात खाइदिँदा रुखहरू नाङ्गा देखिएका हुन् । पानी परेपछि फेरि पलाउने आशा भए पनि पटक–पटक यस्तो समस्या दोहोरिनु दीर्घकालीन खतरा हो। साना रुखहरू सुक्ने र ठूला रुखको वृद्धिदर घट्ने खतरा यसले निम्त्याउँछ, जसको असर सम्पूर्ण वन प्रणालीमा पर्छ। १५–२० वटा सामुदायिक बनका हजारौँ हेक्टर क्षेत्रमा समस्या फैलिनु यसलाई व्यक्तिगत वा स्थानीय मात्र नभई जिल्लास्तरीय महामारीका रूपमा बुझ्नुपर्ने अवस्था आएको छ।


झनै दुःखद पक्ष के छ भने, स्थानीय बन कार्यालयसँग यो संकट नियन्त्रण गर्ने न त पर्याप्त प्रविधि छ, न जनशक्ति, न स्रोतसाधन। माथिल्लो निकायमा जानकारी गराउँदा पनि ठोस प्रतिक्रिया नआउनु राज्यको उदासीनता झल्काउने उदाहरण हो। ड्रोन वा हेलिकप्टरमार्फत विषादी छर्कनु वन्यजन्तु, पशुपंक्षी र मानव बस्तीका लागि जोखिमपूर्ण हुने भएकाले समाधान झन् जटिल बनेको छ।

यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा पनि हेर्न सकिन्छ। तापक्रम वृद्धि र मौसमीय असन्तुलनले यस्ता कीराको प्रकोप बढाइरहेको छ। विगतमा समस्या आफैँ हराएको उदाहरण भए पनि अब केवल प्रतीक्षामा बस्नु बुद्धिमानी हुँदैन। साल वन केवल काठको स्रोत होइन, यो जीवन, वातावरण र समुदायको आधार हो। समयमै वैज्ञानिक अध्ययन, स्रोत परिचालन र तीनै तहका सरकारबीच समन्वय नगर्ने हो भने दाङका हरिया वनहरू भविष्यमा मौन स्मृतिमा सीमित हुने खतरा छ। साभार : अग्रिम साप्ताहिक