उत्पादक शक्तिमा भएको अभूतपूर्व विकास

आजाद खड्का,
-बिहसको प्रारम्भ
मानव समाजले संघर्षकै रूपमा विभिन्न युगहरू र ती विकसित युगका पनि विभिन्न चरणहरू पार गर्दै आएको छ । अहिले हामी मानव समाज विकासक्रमको चौथो युग र चौथो उपयुग भुमण्डलीकृत पुँजीवादी अवस्थामा आई पुगेका छौं । प्रत्येक युग उत्पादन प्रणालीका आधारमा माक्र्सले ऐतिहासिक व्याख्या गरेका छन् । विश्वमा अहिलेसम्म उत्पादन प्रणाली र सोहि अनुरूपको युग समाजको व्याख्यालाई कसैले काट्न सकेको छैन । हरेक वस्तुको उत्पत्ति, विकास र विनाशको कारकतत्व त्यहि वस्तु भित्र देख्नु माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादको मान्यता हो ।

जीवन र जगतको उत्पत्ति, विकास र विनाशलाई हेर्ने यस दुनियामा मुख्यगरी दुई विश्वदृष्टिकोण छन् । एउटा माक्र्सवादी–द्वन्द्वात्मक भौतिकवाद र अर्काे अधिभूतवादी आदर्शवाद । मानव समाजलाई राजा, महाराजा, वीर पुरूष वा स्त्री, विद्वान वा भगवान –ईश्वरको कृपा वा ईच्छाले मात्र बदल्न सक्छ वा चलाउन संभव छ भन्नू आदर्शवाद हो । उत्पादक शक्तिको विकासले मानव समाजको परिवर्तनको ढोका खोल्छ र बदल्छ भनी बुझ्नु द्वन्द्वात्मक भौतिकवाद वा माक्र्सवादी विश्वदृष्टिकोण हो । माक्र्सवादले उत्पादक शक्तिले नै मानव समानको आर्थिक, राजनीतिक र सामाजिक सम्बन्धहरू एवं मानव चेतनाका विभिन्न रूपहरू वा समग्रमा उत्पादन सम्बन्ध निर्माण, विकास र विनाशका लागि प्रमुख उत्प्रेरकको भुमिका निर्वाह गर्छ भन्दछ ।

उत्पादक शक्तिको उत्प्रेरणाबाट उत्पादन सम्बन्धको निर्माण, विकास र विनाश हुन्छ । उत्पादक शक्ति र उत्पादन सम्बन्धको कुल योगफल उत्पादन प्रणाली बन्दछ । यहि उत्पादन प्रणालीका आधारमा युगको पहिचान गरिन्छ । उत्पादक शक्ति नै उत्पादन सम्बन्धको आधार हो । मानव समाजको ईतिहासलाई द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा हेर्ने पद्वतिलाई नै ऐतिहाँसिक द्वन्द्वात्मक भौतिकवाद हो । यसरी समाजलाई हेरेर नै संसारलाई बुझ्न र क्रान्तिको रणनीति तय गर्न संभव हुन्छ ।

केही व्यक्तिहरूले मुख्य उत्पादक शक्तिको रूपमा उत्पादनका औजार भएको व्याख्या गर्दछन् । उनीहरूले मानव चेतनाद्वारा निर्दिष्ट मानवियश्रमद्वारा निर्मित औजार मुख्य र मानविय चेतनालाई सहायक बताएर माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवाद विरोधी आदर्शवादी तर्क दिन्छन् । केहिले त दर्शन, विचार र सिद्वान्त केही होईन, सबै थोक विज्ञान र प्रविधि हो भन्दछन् । विज्ञान र प्रविधिको निर्माण र परिचालन दर्शन, विचार र सिद्वान्त अनुसार हुन्छ भन्ने कुरालाई नजर अन्दाज गर्दछन् । यथार्तमा मानविय चेतना मुख्य हो र मानविय चेतनाद्वारा मानवियश्रमबाट निर्माण एवं परिचालन हुने उत्पादनका साधन सहायक हुन् । यद्यपि उत्पादन साधनमा मानवियश्रम मिसाएपछि मात्र उत्पादक शक्ति बन्दछ । सामाजिक सम्बन्ध वा उत्पादन सम्बन्धको आधार नै उत्पादक शक्ति हो ।

-उत्पादक शक्ति
क. मानविय चेतना (मानविय श्रम)
ख. उत्पादनका साधन
i. उत्पादनका औजार र
ii. उत्पादनका वस्तु
मानविय चेतना (मानविय श्रम), त्यसद्वारा निर्मित उत्पादनका औजार र ती औजारहरू मानवले प्रयोग गर्ने जमिन, फ्याक्ट्री, कम्पनी वा अफिस उत्पादनका वस्तु हुन् । उत्पादनका औजार र उत्पादनका वस्तु मिलेर उत्पादनको साधन बन्छ । ती साधन निर्माण र परिचालन मानिसको चेतनाद्वारा निर्दिष्ट रहि मानवियश्रमद्वारा गरिन्छ । यी उत्पादनका साधन माथि मानवियश्रम मिसाउने हो भने उत्पादक शक्ति बन्दछ । उत्पादक शक्तिको विकास भएको सत्य हो । ती मध्य उत्पादनको साधन निर्माण र परिचालन मानिसको चेतनाद्वारा निर्दिष्ट भई मानवियश्रमद्वारा परिचालन मानव समाजकै लागि गर्ने भएकोले मुख्य उत्पादक शक्ति मानव चेतना हो । यसको विकासको परिणाम स्वरूप उत्पादनका साधनहरूको विकास हुन्छ र उत्पादक शक्तिको विकासका आधारमा उत्पादन सम्बन्धको विकास हुने गर्दछ । उत्पादक शक्ति र उत्पादन सम्बन्धको कुल योगफल उत्पादन प्रणाली हो । प्रत्येक युग उत्पादन प्रणालीका आधारमा चल्छ । राज्यसत्ताको आधार भनेकै उत्पादन प्रणाली हो ।

-आदिमकालमा उत्पादक शक्ति
मानिसले श्रमद्वारा उपार्जन गर्ने हुदा आफुलाई पशुजगतबाट अलग गर्ने सफल भएको कुरा माक्र्सवादको मान्यता छ । पशुजगतवाद मानवले आफुलाई अलग गर्ने प्रक्रियामा मानिसले आफ्नो चेतनाद्वारा शरीर, ढुंगा, काठ, आदि औजारहरूलाई उत्पादनका औजारहरूको रूपमा प्रयोग ग¥यो । आदिम औजारहरू उत्पादन गर्ने वा विकास गर्ने स्तरका थिएनन् ।

प्राकृतिक रूपमा उत्पादित फलफुल कन्दमुलहरू टिप्ने, खोस्रने, ढुँगा वा काठका औजारहरूद्वारा जंगली जनावरहरू मार्ने सिकार गरि भोजनको प्रबन्ध गर्ने गर्दथे । आगोको आविष्कार पहिलो क्रान्ति हो । यसले नै प्रकृतिद्वारा उत्पादित र मानवश्रमबाट उपलब्ध वस्तुहरूलाई परिष्कृत भोजनको रूपमा विकास गर्न, जीवनमा केही सुविधा र सुरक्षा दिएको थियो । आदिमकालमा आगोको आविष्कार मानवश्रमको विकसित चेतनाको प्रमाण थियो । यो युगमा मुख्य उत्पादक शक्ति मानव चेतना थियो । त्यहि चेतनाबाट मानिसले ढुंगा, काठ र आगोलाई हतियारको रूपमा प्रयोग गरेको हो ।

मानव समाजले आठदेखि नौहजार वर्षबीच तामा र फलाम मानिसले फेला पारे पनि धातुलाई प्रसोधन गर्ने प्रविधि पत्ता नलाग्दासम्म ती धातुहरूले मानवश्रमलाई गुणात्मक परिवर्तन ल्याउन सकेनन् । मानिसले धातु प्रसोधन गर्ने प्रविधि सहित आरणको आविस्कारसंगै मानवश्रमको भुमिका गुणात्मकरूपमा उत्पादनमा वृद्वि भयो । आगोको आविष्कारलाई मानव समाजको पहिलो क्रान्ति मानिन्छ । धातु प्रशोधन गर्ने प्रविधिलाई मानव समाजको दोस्रो क्रान्ति हो । धातु प्रशोधन गर्ने प्रविधिको कारण कृषि, शिकार, रक्षा प्रतिरोध र घरेलु जीवनमा गुणात्मक परिवर्तन हुन गयो । मानिसले जति धेरै ज्यावल चलायो, त्यति धेरै कृषि उत्पादन बढेर गयो । उत्पादन बद्वि संगै बचत पनि हुन गयो ।

-दासयुगको विकास र उत्पादक शक्तिको विकास
यसरी हुन गएको बचतमाथि कसको अधिकार भन्ने प्रश्न उठ्यो । बचतमाथि खास व्यक्ति वा समूह मध्य कसले कब्जा जमाउने भन्ने यहि प्रक्रियाले नै निजी सम्पत्ति र वर्गीय समाज उत्पन्न हुन गएको देखिन्छ । यसरी प्रशोधित धातुका ज्यावल र हतियार निर्माणका लागि चेतनाको विकास हुदैनथ्यो भने मानिसको श्रम गर्ने तरिका पनि फेरिने थिएन । यसरी मानवको चेतना गुणात्मक रूपमै विकास भएर उत्पादनको निम्ति योग्य हुन पुग्यो । हिजो अविकसित रूपमा रहेको मानव श्रम सशक्त र विकसित उत्पादक शक्तिको रूपमा मानव समाजमा विकास हुन पुग्यो ।

यही उत्पादक शक्तिको परिवर्तनले आदिम साम्यवादी युग ढल्न पुग्यो र दास– मालिक युग सुरू भयो । यसरी दासहरू दास मालिक युगको मुख्य उत्पादक शक्तिका रूपमा अगाडि आए । यहाँ ध्यानाकर्षण गर्न चाहेको विषय के हो भने मुख्य उत्पादक शक्तिमा गुणात्मक परिवर्तन त्यो मुख्य कारण हुने गर्दछ, जसबाट उत्पादन सम्बन्ध वा सिंगै युग परिवर्तन हुन पुग्दछ ।

यसरी सुरू भएको दास–मालिक युगभित्रै उत्पादन बढाउन सहयोग पु¥याउने औजार तथा प्रविधि पनि विकसित हुँदै गयो र अन्ततः फलामे हलो, गोरू, घोडा, राँगा आदि नारेर जोत्ने प्रविधिमा मानव समाज पुग्यो । पशु नारेर जोत्ने प्रविधिले गर्दा दर्जनौं दासहरूले गर्ने काम एक हल पशु र एउटा मानवको श्रमले सम्पन्न हुने र उत्पादन गुणात्मक रूपमै बढ्ने स्थिति उत्पन्न भयो । पशु नार्ने प्रविधिले बोल्ने पशुुको रूपमा रहेका दासहरूलाई बलात् नकज्याइकन उत्पादन गर्न सकिने मात्र होइन, बरू गुणात्मक रूपमै उत्पादन बढाउन सकिने भयो । अब धेरै दास जम्मा पार्ने विषय मुख्य हुन छाड्यो बरू जति धेरै जमिन ओगट्न सक्यो, त्यति धेरै उत्पादन गर्न सकिने अवस्था उत्पन्न भयो ।


-सामन्तवादी युग र उत्पादक शक्ति
-मानव चेतनाः मानव श्रम
-उत्पादनका औजार : फलामे हलो, गोरू, घोडा, राँगा आदि भए ।
-उत्पादको वस्तु : उत्पादनको वस्तुको रूपमा जमिन आयो । त्यसपछि नै भूदास किसान, मोही किसान, स्वतन्त्र किसान र सामन्त रहेको सामन्तवादी युग सम्भव भयो ।
यसरी यस सन्दर्भमा पनि के प्रष्ट देख्न सकिन्छ भने उत्पादक शक्तिमा आएको गुणात्मक फेरबदलले नै दास–मालिक युगको उत्पादन सम्बन्ध फेरिएर सामन्तवादी युगको उत्पादन सम्बन्ध निर्माण सुरू हुन पुगेको हो ।

-पुँजीवादी युग र उत्पादक शक्ति
यहाँ हामीले प्रष्टसंग बुझ्नु पर्ने कुरा के रहेको छ भने, सामन्तवादी युग पनि केही हजार वर्ष चलेको थियो । यश सामन्तवादी युगभित्र पनि मानव चेतनाको गणात्मक विकास हुन पुग्यो ।

-पहिलो उपयुग–व्यापारिक पुँजीवाद
यस युगमा पनि नयाँ–नयाँ औजार थपिंदै गए, मानव श्रमको तरिकामा फेरबदल हुँदै गयो, उत्पादन बढाउने र मानव जीवनलाई क्रमशः सहज बनाउने प्रक्रिया बढ्दै गयो । ईशाको १३ देखि १६ औं शताब्दीको बीचमा मानव समाजले हाते तान तथा आरनको राम्रो विकास हुनुका साथि प्रविधि प्रयोग गर्ने दस्तकार र उत्पादित सामान बेच्दै हिँड्ने व्यापारीको एकताबाट सामन्तवादी युग विरूद्व संघर्ष गरेर पुँजीवादी व्यवस्था गरेको देखिन्छ । सामन्तवादभित्र विकसित पुँजीवादले सन् १७७५ तिर युरोपमा जेम्स वाटले वाफबाट चल्ने अर्ध–चालित इन्जिन आविष्कार गरेपछि फड्को मारेको देखिन्छ ।

-दोस्रो उपयुग–औद्योगिक पुँजीवाद
व्यापारिक पुँजीवादले सन् १७७५ तिर युरोपमा जेम्स वाटले वाफबाट चल्ने अर्ध–चालित इन्जिन आविष्कार गरेपछि फड्को मारेको देखिन्छ । त्यो इन्जिनजडित मेसिन उद्योगहरूमा लगाउने क्रमसँगै आरम्भिक चरणको व्यापारिक पुँजीवादले व्यापक मात्रामा पुँजीको निर्माण गर्न थाल्यो । पुँजीवादले जमिन, मेसिन, सामुहिक श्रम सबैलाई आफु मातहत ल्यायो । त्यसपछि नै पुँजीवाद औद्योगिक वा प्रतिस्पर्धात्मक पुँजीवादको उपयुगमा प्रवेश गरेको हो । यसरी पुँजीवादमा उत्पादनको मुख्य औजार मेसिन बन्न गयो । औद्योगिक पुँजीवादमा धेरै किसिमका उत्पादनहरू बस्ती–बस्तीमा पु¥याउन सम्भव भएन, बरू मानिसहरू नै एकै ठाउँमा लिन आउनुपर्ने अवस्थाको सिर्जना भयो ।

परिणाम स्वरूप बजारको उत्पत्ति गर्नु प¥यो । यसरी लाखौँ मजदुरहरू उद्योगहरूमा केन्द्रित हुन थाले, जुन इतिहासको नयाँ वर्ग थियो । पुँजीपतिहरू मजदुरको शोषण गर्ने र नाफा कुम्ल्याउन प्रतिस्पर्धा गर्न थाले । पुँजीपति वर्गले वैचारिक हतियारको रूपमा धर्मलाई परिमार्जन गर्न थाल्यो, तर मजदुर वर्ग धर्मको वैचारिक हतियारले लडेर मुक्त नहुने भयो । त्यही वस्तुगत धरातलमा सर्वहारावर्गको वैचारिक हतियारका रूपमा द्वन्द्वात्मक भौतिकवाद अर्थात् माक्र्सवादको जन्म भयो । त्यसैले १९ औं शताव्दीको मध्यकाललाई कार्ल माक्र्सकालिन प्रतिस्प्रर्धात्मक औद्योगिक पुँजीवाद भनिन्छ

-तेस्रो उपयुग : एकाधिकार पुँजीवाद
माक्र्सकालीन प्रतिस्पर्धात्मक अथवा औद्योगिक पुँजीवाद बढीभन्दा बढी उत्पादन र नाफा लुट्ने होडमा वेगवान हुँदै जाँदा सबै क्षेत्रमा यन्त्रीकरणको तीव्र विकास हुदै गयो । बढेर गएको पुँजीको केन्द्रीकरणले वित्तीय पुँजीवादको युग सुरू भयो । सामानहरूको व्यापक उत्पादनसंगै नयाँ–नयाँ बजार खोज्न बाध्य पा¥यो । त्यसपछि सामान बेच्न तथा प्राकृतिक स्रोत कब्जा गर्न उपनिवेशवादको रूपमा पुँजीवादी साम्राज्यवादको जन्म भएको कुरा सर्व विद्विति छ ।

प्रतिस्पर्धामा कमजोरले हार्छ र बलियोले जित्छ भनेजस्तै प्रतिस्पर्धात्मक पुँजीवादभित्र जित्ने पुँजीपतिहरूको डफ्फाले हार्ने पुँजीपतिको डफ्फालाई नष्ट गर्दै गयो र लेनिनको समयमा पुग्दा पुँजीवादले एकाधिकारी पुँजीवादको रूप लिन पुग्यो । यसलाई अर्थात एकाधिकार पुँजीवादलाई लेनिन कालको पुँजीवाद पनि भनिन्छ ।

-एकाधिकारी पुँजीवादका नीतिहरू :
१.प्रतिस्पर्धा गर्नेहरूलाई नष्ट गर्ने र एकाधिकार जमाउने नीति लियो,
२.उत्पीडित राष्ट्रहरूमा आफ्ना दलाल र नोकरशाहसँग मिलेर त्यो राष्ट्रका राष्ट्रिय पुँजीपतिलाई सखाप पार्ने नीति लियो र
३.विश्वबजार कब्जा गर्न एकाधिकारी पुँजीवादभित्र विश्वका विभिन्न एकाधिकारी पुँजीवादी समूहहरूले एक–अर्काेलाई सिध्याउन विश्वयुद्धसम्म जाने नीति लिए । माक्र्सकालीन प्रतिस्पर्धात्मक पुँजीवाद बढी सामान उत्पादन, मजदुरको शोषण र बढी नाफामा केन्द्रित थियो, भने लेनिनको समयमा पुग्दा त्यो पुँजीवादले आफ्नो आधारभूत चरित्र फेरेर प्रतिस्पर्धालाई निषेध गर्ने र विश्वबजार कब्जा गर्न विश्वयुद्धसम्म पुग्ने एकाधिकारी पुँजीवाद सतहमा आयो । पुँजीवादी युगभित्र यो एकाधिकारी पुँजीवादी अथवा वित्तीय पुँजीको साम्राज्यवादी चरण आउनुको पछाडि रहेको कारण पनि मुख्य उत्पादक शक्ति मानव चेतनाको विकास एवं चरम व्यक्तिवादी शक्तिमा गुणात्मक विकास हुन पुगेर नै भएको थियो । प्रतिस्पर्धात्मक पुँजीवादी चरणको पुँजी एकाधिकारी पुँजीवादको चरणमा पुग्दा वित्तीय पुँजीका रूपमा गुणात्मक रूपमै शक्तिशाली भैसकेको यथार्थलाई यहाँनेर ध्यान दिनु जरूरी छ ।

–चौथो उपयुग : भुमण्डलीकृत पुँजीवाद
सन् १९५० पछि आजसम्मको विज्ञान प्रविधिको विकास चाहि पहिलेको विकाससँग तुलना नै गर्न नसकिने स्तरमा गुणात्मक विकास भएको छ । विज्ञान–प्रविधिमा भएको असाधारण प्रगतिका कारण मानव चेतनाले मेसिनको भूमिकालाई गुणात्मक रूपमै विकास गरेको छ । हजारौ मेसिन आठ घण्टा चलाउन हजार जना मानिसको ८ घण्टाको श्रमशक्ति लाग्ने ठाउँमा हजार मेसिन एकैजना मानिसले त्यो पनि आठघण्टा होइन, एकपटक एउटा स्वीच दबाएपछि चल्ने स्थिति उत्पन्न भएको छ । यो परिस्थिति भनेको विज्ञान–प्रविधिमा भएको गुणात्मक विकासको हो । विज्ञान–प्रविधिको यस्तो विकासले डिजिटल युगको सुरू भएको छ ।

इन्टरनेटजस्ता प्रविधिमा भएको विकासले विश्व पुँजीवादलाई पुनः नयाँ संस्करण वा चरणमा लैजाने बाटो खोलेको छ । त्यो बाटो भनेको धेरै देशका पुँजीपतिको पुँजीलाई एकीकृत रूपमा बहुदेशीय कम्पनीमार्फत् लुटको निम्ति परिचालन गर्न सकिने बाटो हो। विज्ञान–प्रविधिमा आएको असाधारण प्रगतिले एकातिर सयौँ मेसिन चलाउन थोरैजना अपरेटर भए पुग्ने स्थिति आयो, जसबाट लाखौँ–करोडौँ हिजोका मजदुर उत्पादनका क्षेत्रबाट विस्थापित हुन थाले भने अर्काेतिर विश्व ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता वित्तीय संयन्त्र र बहुराष्ट्रिय कम्पनीहरूमार्फत् एकीकृत रूपमा विश्वका उत्पीडित राष्ट्र र श्रमिक जनताको लुट सम्भव हुन थाल्यो । भुमण्डलीकृत पुँजीवादको
– उत्पादनको औजारः विज्ञान र प्रविधि
– उत्पादनको वस्तुः जमिन, कम्पनी आदि रहेका छन् ।
– मानवियश्रम, यी तीन तत्व मिलाएर उत्पादक शक्ति बनेको छ ।
साभारः अग्रिम साप्ताहिक