नेता र जनताका छोरा एउटै स्कुलमा पढ्नु पर्ने अभियानलाई उम्मेदवार अधिकारीको समर्थन

तुलसीपुर, ८ माघ । प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट दाङ– २ मा उम्मेदवार बनेका प्रतिक अधिकारीले नेता र जनताका छोराछोरी एउटै स्कुलमा पढ्नु पर्ने अभियानलाई समर्थन जनाएका छन् ।

अभियन्ता सर्जन परियारले घोराहीको भानुचोकबाट सुरु गरेको अभियानलाई अधिकारीले समर्थन जनाएका हुन् । यो अभियानमा सबैले साथ दिनुपर्ने समेत उम्मेदवार अधिकारीको भनाई छ ।


उनका अनुसार अहिले पनि नेताका छोराछोरी महंगा स्कुलमा पढ्ने र जनताका छोराछोरी सामुदायिक स्कुलमा पढ्नु पर्ने अबस्था रहेको भन्दै नेता र जनताका छोराछोरी पढ्ने स्कुल एउटै हुनुपर्ने उनको भनाई थियो ।

शिक्षालाई समान बनाउनु पर्ने र सबै विद्यालयमा गुणस्तरीय शिक्षा दिने वातावरण तयार गर्नुपर्ने उनको भनाई थियो । परियारले केही समय अघि देखि तुलसीपुरबाट यो अभियान सुरु गरेका छन् ।