
दाङ, २९ पुस ।
माघी—थारु समुदायको जीवन, संस्कार र सामाजिक संरचनासँग गहिरो सम्बन्ध राख्ने महान पर्व हो । थारु समुदायले यो पर्वलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन । पुरानो दुःख–कष्टको समापन र नयाँ आशाको बीजारोपण गर्ने यो पर्वले थारु समुदायलाई एकतामा बाँध्दै आएको छ। थारु समुदाय संस्कार र संस्कृतिका हिसाबले धनी समुदाय हो ।तर, पछिल्लो समय थारु समुदायका केही मौलिक पहिचानहरू बिस्तारै लोप हुँदै गएका छन् ।
कुनै समय थारु समुदायको पहिचान बनेको परम्परागत पोशाक आज दैनिक जीवनबाट हराउँदै गएको छ। युवापुस्तामा आधुनिकताको प्रभाव बढ्दै जाँदा थारु पहिरन पर्व र सांस्कृतिक कार्यक्रममै सीमित हुँदै गएको छ। त्यस्तै, पुसको अन्तिम दिन ढुम्रु गीत गाउने चलन थियो ।
माघीको दिनसम्म विहान गीत गाउने र नदी तथा खोलामा नुहाउने जाने चलन थियो । त्यो चलन अहिले विस्तारै हराउँदै गएको छ । त्यस्तै माघीमा छोरी–ज्वाइँ ससुराली जाँदा दाउरा बोकेर लैजाने चलन, आपसी सम्बन्ध र श्रमको सम्मान झल्काउने सुन्दर संस्कार थियो। आज त्यो चलन सम्झनामा मात्र सीमित बन्दै गएको छ। त्यस्तै, छोरीलाई माइतबाट गुन्द्री, भाँडाकुँडा र घरेलु सामग्री लैजाने चलन पनि आधुनिक जीवनशैलीसँगै हराउँदै गएको छ। यी परम्पराहरू भौतिक वस्तुका कुरा मात्र थिएनन्, ती भावनात्मक सम्बन्ध, सामाजिक उत्तरदायित्व र सामुदायिक आत्मीयताको प्रतीक थिए।
तर, यी केही चलन र भौतिक पक्ष लोप हुँदै गए पनि एउटा सत्य कहिल्यै लोप भएको छैन—थारु समुदाय संस्कार र संस्कृतिमा आज पनि अत्यन्तै धनी छ। दाङका थारुहरू आज पनि सामूहिकता, मेलमिलाप, श्रमको सम्मान र प्रकृतिसँगको सहअस्तित्वलाई जीवनको मूल मूल्य मान्छन् ।
माघीमा बडघर, गुरुवा चयन गर्ने परम्परा, सामूहिक निर्णय प्रक्रिया र सामाजिक न्यायप्रतिको प्रतिबद्धता थारु समुदायको विशिष्ट पहिचान हो। थारु समुदायको यो पहिचान संरक्षण गर्न नयाँ पुस्तामा संस्कार, संस्कृति,पहिचान हस्तान्तरण गर्नु अहिलेको आबश्यकता हो । यस तर्फ थारु अगुवाहरु गम्भीर हुन जरुरी छ ।



लाइभदाङ । २९ पुष २०८२, मंगलवार ११:०० बजे