विकासमा ‘भ्यूटावर’ प्रबृति

मुलुकमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणले तिब्रता पाएको छ । संघीयता सुन्दर पक्ष पनि यही हो । गाउँ–गाउँमा विकास निर्माणका काम पनि भएका छन् । यसले समाजलाई विकासको मार्गमा अघि बढाएको छ । तर, विकासमा थुप्रै विकृतिहरु पनि फैलिएका छन् । यसको एउटा उदाहरण तुलसीपुर उपमहानगरपालिकालाई लिन सकिन्छ । महत्वकांक्षी योजनकै कारण अहिले तुलसीपुरमा १ अर्ब ऋण छ । यसलाई उपमहानगरपालिकाले आफ्नो तिर्नुपर्ने दायित्व भनेको छ । तर, यसको ब्यापक विरोध भएको देखिन्छ । राजश्व प्रक्षपण गर्दा महत्वकांक्षी योजना बनाएर लोकपृय बन्ने नाममा यसरी उपमहानगरपालिका ऋणमा डुबाएको विषयको चौतर्फी विरोध हुने गरेको छ । अहिल पनि धेरै योजना निर्माण भएका छन्, तर ति योजनाको भुक्तानी हुन सकेको अबस्था छैन । भुक्तानी नहुँदा न्यायीक समितिमा मुद्दा समेत परिसकेका छन् । निर्माण व्यबसायीहरुले केही समयमा अदालतमा मुद्दा हाल्ने समेत बताईरहेका छन् ।

अनुचित स्थानमा हुने गरेका विकासले गर्दा यसरी उपमहानगरपालिका ऋणमा डुबेको विज्ञहरुले बताउने गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट सीटीका नाममा महत्वकांक्षी योजना बनायो । आफै भ्यूटावर जस्ता डाँडाकाडा भएको छिल्लीकोटमै भ्यूटावर निर्माण गरिएको छ । जहाँ लाखौं खर्च भएको छ । तर, त्यहाँ पुग्ने सडक धुलाम्मे छ । भ्यूटावर निर्माण भनेको सुन्दर दृष्य हेर्नलाई नै बनाईएको हो । तर, त्यो सुन्दर दृष्य हेर्न जाने सडक भने धुलाम्मे हुन्छ । पर्यटकहरु धुलाम्मे हुने गरेका छन् । यस्ता थुप्रै कम आबश्यकता भएका स्थानमा बढि खर्च भएका छन्, यसले गर्दा उपमहानगरपालिका यसरी ऋणमा डुबेको हो ।


हामीले योजना बनाउँदा जनतालाई रिझाउने, जनतासंग सस्तो लोकपृयता कमाउनकालागि होईन्, जनताको विकासको आबश्यकताका आधारमा गर्नुपर्छ । अन्यथाः कस्तो परिणाम आउदो रहेछ भन्ने कुरा तुलसीपुर उपमहानगरपालिका एउटा उदाहरण हो । लोकपृयताको नाममा आफ्नो स्थानीय तहको औकात कति हो, राजश्व कति उठ्न सक्छ, भन्ने कुरा ध्यान नै नदिएर गरिने यस्ता योजनाहरुले नागरिकलाई कति असर गर्छ, भन्ने कुरा प्रष्ट भएको छ । हचुवाको भरमा जनताको लोकपृयता कमाउने नाममा, आफ्नो लोकपृय भिजन देखाउने नाममा अतिमहत्वकांक्षी बजेट बनाएर ऋण थोपारेर विकासको गफ छाँट्ने भन्दा अरु उपलब्धि हुँदैन ।साभारः अग्रिम साप्ताहिक

May be an image of 1 person