
दाङ, १४ पुस ।
गुरुकुल एकेडेमीले आयोजना गरेको मास्टर र मिस गुरुकुल २०८२ कार्यक्रम उत्साहपूर्ण वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ । विद्यार्थीहरूको आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा प्रस्तुतीकरण कौशल अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
घोराहीस्थित गुरुकुल एकेडेमीमा आयोजित प्रतियोगितामा कृष्ण थापा मास्टर गुरुकुल घोराही र मान्सि आचार्य मिस गुरुकुल घोराही घोषित भएकी छन् । त्यसैगरी तुलसिपुरस्थित गुरुकुल एकेडेमीमा सम्पन्न प्रतियोगिताबाट शुभम सुनार मास्टर गुरुकुल तुलसिपुर तथा समृद्धि श्रेष्ठ मिस गुरुकुल तुलसिपुर बन्न सफल भएकी छन ।
घोराही गुरुकुल एकेडेमीको निर्णायक मण्डलमा दीपक वली, आशा चौधरी र सुसिला पोख्रेल रहनुभएको थियो । त्यस्तै तुलसिपुर गुरुकुल एकेडेमीको निर्णायक मण्डलमा चिन्तना धिताल र रञ्जना सुनार रहेका थिए ।सहभागी विद्यार्थीहरूको आत्मविश्वास, प्रतिभा, बौद्धिक क्षमता, प्रस्तुतीकरण शैली तथा समग्र व्यक्तित्वका आधारमा मूल्याङ्कन गरिएको निणायकमा रहनुभएका दीपक वलीले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न चरणमा आफ्ना क्षमता प्रस्तुत गर्दै दर्शक र निर्णायकको मन जित्न सफल भएका थिए । विद्यालयले यस्ता सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमले विद्यार्थीहरूको लुकेका प्रतिभा उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । गुरुकुल एकेडेमीले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
गुरुकुल एकेडेमी घोराहीको छैटौ सिजन रहेको थियो भने तुलसिपुरको दोस्रो सिजन रहेको थियो । गुरुकुल एकेडेमीका प्रधानाध्यापक द्धय प्रदीपराज भण्डारी र मुकुन्द गिरीको अध्यक्षतामा धएको कार्यक्रमको सहजिकरण शिक्षक जित बहादुर भण्डारीले गरेका थिए ।



लाइभदाङ । १४ पुष २०८२, सोमबार २२:१९ बजे