
तुलसीपुर, २३ मङ्सिर । दाङको तुलसीपुरमा नेवारी सडक खाना तथा योःमरी उत्सव सुरु भएको छ । मंगलबारदेखि उत्सव सुरु भएको हो । नेवारी खानाको प्रबद्र्धन गर्नकालागि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
महोत्सव २९ मंसिरसम्म चल्नेछ । महोत्सवमा विभिन्न नेवारी परिकारहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ। नेवा देय दवु तुलसीपुर र ‘नेवाः मिसा दवु’ ले यसरी एक हप्तासम्म महोत्सव सञ्चालन गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाको गेट नजिकै सडकमा नेवारी खाना प्रदर्शनी तथा विक्रीकालागि राखिएको छ । साथै नेवारी कला तथा संस्कृती पनि प्रर्दशनी गरिएको अध्यक्ष शिव श्रेष्ठले बताउनुभयो । महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवमा सम्य बजि सेट,यःमरी(चाकु), यःमरी खोवा,सेलरोटी,अण्डा बारा, जुम्ली झर, छोयला(बफ), छोयला(चिकन),चुकौनी,बोडी फ्राइ,आलु फ्राइ, आलुवोडी तामा,अण्डा फ्राइ,वासालगायतका परिकार राखिएको छ । ति नेवार समुदायका प्रसिद्ध परिकार हुन् । नेपाल सम्बत १४४६ थिलंगा पञ्चमीदेखि थिलंगा एकादशीसम्म यो महोत्सव सञ्चालन हुनेछ ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले कला संस्कार, संस्कृति संरक्षण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूूमिका निर्वाह गर्ने बताउनुभयो । तुलसीपुरमा यो दोस्रो महोत्सव हो ।
गत वर्ष पनि महोत्सव आयोजना गरिएको थियो । जसमा ३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। यस वर्ष भने करिब ८ लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ।



लाइभदाङ । २४ मंसिर २०८२, मंगलवार २१:४६ बजे