
रुकुम पश्चिम, २० असोज ।
आठविसकोट-३ का वडाध्यक्ष केशरमान विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाइ गोपाललाई पक्राउ गर्न खोज्दा केशरमानले अवरोध गरेको भन्दै उनलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सदस्यसमेत रहेका वडाध्यक्ष विकलाई हिरासतमा लिएकोमा नेकपा रुकुम पश्चिमले आपत्ति जनाएको छ । विकलाई ‘वडा सम्बन्धित केही विषयमा छलफल गर्नु छ भनी जिल्ला प्रहरी कार्यालय बोलाएको र कार्यालय परिसरभित्र पुग्नासाथ हत्कडी लगाई हिसासतमा राखेर निर्घात कुटपिट गरिएको नेकपाले बताएको छ । उक्त घटनालाई नेकपाले जनताको सुरक्षा गर्ने जिम्मेवारी बोकेको प्रहरीबाटै भएको कार्य ‘अमानवीय र गैरकानुनी’ भएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वेदबहादुर पौडेलले गोपाल विकमाथि आठविसकोटको भम्पु–नदुवा सडक खण्डमा काम गरिरहेका निर्माण व्यवसायीको जेसीभी मेसिनको चाबी लिएर धम्की दिँदै पैसा मागेको विषयमा कार्यालयमा जाहेरी परेको बताए । जाहेरीमा उल्लेखित व्यक्ति बजारमै रहेको सूचना पाएपछि बिहान प्रहरी परिचालन गरिएको थियो । उनलाई पक्राउ गर्न अवरोध गरी प्रहरीमाथि नै केशरमानले अभद्र व्यवहार गर्दै भाइलाई भगाउन भूमिका खेलेकाले नियन्त्रणमा लिएको पौडेलले स्पष्ट पारे ।
केशरमानमाथि कुटपिट गरिएको विषयमा जिज्ञासा राख्दा डीएसपी पौडेलले ‘त्यसो नगरिएको’ बताएका छन् । उनले भने, ‘कुनै घटनाका विषयमा हामीसम्म उजुरी आएपछि सम्बन्धित मान्छेलाई कानुनी दायरामा ल्याउने काम हाम्रो हो । तर त्यसमा कसैले पनि बाधा–अवरोध सिर्जना गर्छ भने त्यो गैरकानुनी ठहर्छ । त्यही गैरकानुनी काममा उहाँ संलग्न भएकाले र प्रहरीमाथि नै आक्रमण गर्न तम्सिएपछि नियन्त्रणमा लिएका हौं ।’
‘राष्ट–सेवक कर्मचारीलाई बाधा–अवरोध खडा गरेको’ कसुरमा केशरमानलाई आजै तीन दिन म्याद गरी आवश्यक अनुसन्धान अघि बढाइएको डीएसपी पौडेलले जानकारी दिए । उनका अनुसार गोपालको पनि खोजी जारी छ ।
नेकपाका जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘गैरकानुनी ढंगले हिरासतमा राखिएका विकलाई रिहा गर्न, उनको निःशुल्क उपचार गर्न तथा कुटपिटमा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न’ सरकारसँग माग गरिएको छ ।



लाइभदाङ । २० आश्विन २०८३, मंगलवार २१:२९ बजे