नेपाली कांग्रेस लमही नगर समितिद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

प्रिया स्मृती गजमेर

दाङ, १५ मंसिर । नेपाली कांग्रेस लमही नगर समितिले कांग्रेसका क्षेत्रीय प्रतिनिधि शेरबहादुर बुढाको सातौँ दिनको अवसरमा श्रद्धाञ्जली (शोक) सभा सम्पन्न गरेको छ। लमही नगरपालिका–७ वनगै निवासी बुढाको असामयिक निधनप्रति पार्टी नेता तथा कार्यकर्ताले गहिरो दु:ख व्यक्त गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य मोहन गिरीले स्व. बुढाको निधनले पार्टीले एक अग्रज, सुझबुझयुक्त र प्रतिबद्ध नेतृत्व गुमाएको बताए । संगठन निर्माणदेखि पार्टीको हितका हरेक विषयमा चिन्ता व्यक्त गर्ने, नेतृत्व गलत दिशामा जाँदा सचेत गराउने जस्ता गुण भएका कारण उनी पार्टीका सच्चा मार्गदर्शक नेता रहेको गिरीले उल्लेख गरे ।

त्यस्तै, कांग्रेस नेतृ लक्ष्मी योगीले स्व. बुढा एक कुशल, इमानदार र सरल व्यक्तित्वका धनी नेता भएको बताइन् । उनले बुढाको निधनले सिंगो पार्टीलाई नै अपूरणीय क्षति पुगेको भन्दै गहिरो समवेदना व्यक्त गरिन् ।


शोकसभामा नेपाली कांग्रेस लमही नगर समिति अध्यक्ष सन्तोष बुढाथोकीको अध्यक्षता तथा महासमिति सदस्य मोहन गिरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव प्रेम कालाथोकीले गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेस लमही–७ का सभापति शालिकराम चौधरीले पनि स्व. बुढाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टी र समाजका लागि पुर्‍याएका योगदान स्मरणीय रहने बताए ।

शोकसभामा उपस्थित सबैले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए ।