‘एआई एक्सरे’बाट क्षयरोग संक्रमित खोज्दै‘तुलसीपुर’

दाङ,२२ जेठ ।
दाङको तुलसीपुरलाई क्षयरोगमुक्त बनाउनकालागि‘एआई एक्सरे’ मेसिनबाट संक्रमित पहिचान गर्ने गरिएको छ । तुलसीपुरका १९ वटा वडा मध्ये १७ वटा वडामा ‘एआई एक्सरे’बाट क्षयरोगका विरामी खोजिएको फोकल पर्सन शिव प्रसाद तिवारीले बताए । उनका अनुसार तुलसीपुरको २ र १३ नम्बरमा भने अझै त्यसरी विरामी खोजिएको छैन । त्यो बाहेक अन्य १७ वटा वडामा ‘एआई एक्सरे’बारे विरामी खोजिएको उनको भनाई छ । बिभिन्न शिविरहरुमा उक्त मेसिन प्रयोग गरेर संक्रमित खोज्ने गरिएको छ । जसले चिकित्सकहरुलाई क्षयरोग पहिचान गराउन सहज भएको उनको भनाई छ ।“पहिले साधारण एक्सरेबाट क्षयरोग पहिचान गर्ने गरिन्थ्यो”,उनले भने“तर, अहिले एआई एक्सरेबाट रोग पहिचान गर्ने गरेका छौं, त्यसले सहज बनाएको छ ।”

एआई एक्सरेले साधारण माईक्रोस्कपी गर्दा पनि नदेखिएको क्षयरोगको संक्रमण देखाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए । उनका अनुसार एआई एक्सरेमा संक्रमण देखिएमा त्यसको पुष्टीकालागि पुनः ‘जीनएक्सपर्ट’ मेसिनमा परीक्षण गरिन्छ ।

जुन राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको प्रमुख न्यौपानेले बताए । त्यसले पनि ‘पोजेटिभ’ देखिएमा नियमित औषधी चढाउने गरिएको उनले बताए ।“हामीले पहिले एआईएक्सरे मेसिनबाट हेर्छौ, त्यसपछि जीनएक्सपर्ट मेसिनमा परीक्षण गरेपछि पोजेटिभ देखिएमा उपचार सुरु गर्छौं”,उनले भने “यसरी हामीले संक्रमित पहिचान गरि उपचार गर्ने गरेका छौं ।”


संक्रमितलाई ‘डटस्’ अर्थात प्रत्येक दिन निगरानी गरेर औषधी खुवाउने गरिएको समेत उनको भनाई छ । यसरी ६ महिनासम्म प्रत्येक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधी खुवाउन गरिएको उनले बताए । तुलसीपुर उपमहानगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियान अन्तर्गत यसरी क्षेयरोग संक्रमितको पहिचान गरि उपचार गर्ने गरिएको छ । हाल उक्त कार्यक्रम दोस्रो बर्षमा सञ्चालित छ । आर्थिक बर्ष २०८१/०८२ देखि तुलसीपुरमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले ९७ प्रतिशत संक्रमितलाई उपचार गरिसकेको समेत प्रमुख न्यौपानेले बताए । चालु आर्थिक बर्षको जेठ १८ गतेसम्म तुलसीपुरमा ३ सय ५५ जना संक्रमित पहिचान गरिएको छ । १५ बर्ष मुनीका ३४ जना र १५ बर्ष माथिका तीनसय २१ जनामा क्षयरोग संक्रमण भएको पुष्टि भएको छ । प्रत्येक एक लाखमा दुई सय २७ जनामा क्षयरोग संक्रमण देखिएको समेत उनको भनाई छ । हाल तुलसीपुरमा १३ डट्स केन्द्र, ४ स्थानमा टीवी माइक्रोस्कपी लागु गरिएको छ ।