
तुलसीपुर,२५ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी सपना पुनको सपना थियो होटेल म्यानेजमेन्ट पढ्ने अनि आफ्नो ब्यबसाय गर्ने । त्यो सपना पूरा ग¥यो, दाङको तुलसीपुर ६ स्थित डिभाइन टेम्पल एकाडेमीले ।
पुनले डिभाइनबाट होटेल ब्यबस्थापन (एचएम) गरेर अहिले आफै क्याफे सञ्चालन गररहेकी छिन् । उनकै साथमा छन्,संगै पढेका अन्य दुई जना सारथीहरु : तुलसीपुर ५ न्यूरोड निवासी ओमा खड्का र सोही वडाको रानीजरुवा निवासी विपना विक ।
उनीहरु हाल चिया, कफीमात्रै नभई मःमः, चाउमिनलगायतका नास्ता बेच्नमा ब्यस्त छन् । “हामी विएचएम पढेपछि आफै केही गर्नुपर्छ भनेर लाग्यौं”, पुनले भनिन् “अहिले आफैले क्याफे खोलेका छौं ।”
तुलसीपुरको मालपोत कार्यालय नजिकै उनीहरुले नायक क्याफे सञ्चालन गरेका छन् । जसबाट दैनिक पाँच हजारसम्मको आम्दानी हुन्छ ।
स्वदेशमै केही गरौं, भनेर उहाँहरु आफै ब्यबसायमा सक्रिय भएको पुनको भनाई छ ।“अहिले धेरैजना सीप सिकेर विदेश जानु हुन्छ, हामी भने यही केही गरौं भनेर लागेका छौं”,उनले भनिन् “अहिले कम्तीमा सटर भाडा र पढाई खर्च धान्न सकिएको छ ।”
अहिलेको आबश्यकता भनेको जीवन उपयोगी शिक्षा भएकाले आफूहरुले त्यस तर्फ ध्यान दिएको एकाडेमीका प्रिन्सिपल भोजराज न्यौपानेले बताए ।
त्यहाँ पढाई सकेपछि नायक मार्टले लगानी गरिदिएपछि उनीहरुले उक्त क्याफे सञ्चालन गरेका हुन्। आफूहरूले गरेकाे लगानीबाट बिद्यार्थीहरू सन्तुष्ट भएकाे नायक मार्टका सञ्चालक निर्मल केसीले बताए ।
याे ब्यबसाय सफल भएमा थप लगानी गर्ने समेत केसीले बताए ।





लाइभदाङ । २५ असार २०८२, बुधबार १८:१५ बजे