पुराना दलका कारणले अर्थतन्त्रमा ६५ करोड नोक्सान भयोः उपसभापति वाग्ले

दाङ,२७ मङ्सिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले मुलुकको अर्थतन्त्र २०४८ साल यता खस्किदै गएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार दाङको तुलसीपुरमा आयोजना गरेको नगर भेलालाई सम्बोधन गर्दै उनले २०४८ सालको जस्तो अर्थतन्त्रमा सुधारलाई निरन्तरता दिएको भए अहिले एकसय ३० अर्वको अर्थतन्त्र हुने समेत बताए ।“०४८ को जस्तो अर्थतन्त्र भएको भए अहिले एक सय ३० अर्व अर्थतन्त्र हुन्थ्यो”,उनले भने “तर, पुराना दलले गर्दा अहिले ६५ अर्ब मात्रै अर्थतन्त्र छ, बाँकी ६५ अर्ब कता हरायो ?”

मुलुकमा असल शासन नहुँदा बर्षेनी अर्थतन्त्र खस्किरहेको समेत उनको भनाई छ । अहिले काम गर्न सक्ने युवाहरु विदेशीनु, सिन्का सम्म विदेशबाट आयात गर्नु, आन्तरिक आम्दानी नहुँनु, विदेशबाट पठाएको पैसाले धानिनु जस्ता कुराले अर्थतन्त्र खस्किदै गएको समेत उनको भनाई छ ।


उनले मुलुक अर्थतन्त्रका हिसाबले जटिल रहेको समेत बताए । मुलुक बनाउने हो, भने यस्तो अबस्थालाई भत्काउनु पर्ने समेत उपसभापति वाग्लेले बताए । अर्थतन्त्र सुधार नभएमा युवाहरु आशावादी नहुँने र नेपाल भित्र भन्दा बाहिर नेपालीको संख्या बढि हुने अबस्था आउने समेत उनको भनाई छ ।

साथै उनले आफ्नै देशमा केही गरौं भनेर नेपाल फर्केको समेत बताए ।“म गोरखाको भिरमा जन्मेको मान्छे, राम्रो शिक्षा पाएर अमेरिकामै राम्रो जागिर छोडेर नेपाल आएँ”,उनले भने “देश राम्रो नहुँदा आफू राम्रो भएर पनि केही हुँदो रहेनछ, त्यसैले नेपालमै केही गरौं भनेर फर्केको हुँ ।”