तुलसीपुरमा ४ पुसदेखि महोत्सव लाग्ने

तुलसीपुर, १४ मंसिर ।
दाङको तुलसीपुरमा पुस ४ गतेदेखि महोत्सव लाग्ने भएको छ । यस पटक नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले महोत्सल लगाउन लागेको हो । महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुने छ ।

स्थानीय उत्पादनको प्रवद्र्धन गर्न र कृषि, पर्यटन र अर्थतन्त्रमा सुधारका लागि महासंघले महोत्सव संचालन गर्न लागेको महासंघका अध्यक्ष लाल बहादुर केसीले जानकारी दिए ।

आइतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि तुलसीपुर–६ घोराही रोडको उत्तरतर्फ रहेको मैदानमा महोत्सव सञ्चालन हुने जानकारी दिईएको हो । महोत्सवले तुलसीपुर–१६ जहदागाउँमा घोषणा गरिएको औद्योगिक ग्राम संचालनमा स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्नेदेखि तुलसीपुर–५ स्थिति पातुखोलामा निशुल्क हाटबजार व्यवस्थित गर्ने, शौचालय निर्माण गर्ने महोत्सवको प्रमुख उद्देश्य रहेका छन् ।


यस्तै उद्योग कलकारखाना तथा व्यवसाय क्षेत्रमा हुने आगलागीजन्य विपदबाट हुने क्षति न्यूनिकरणका लागि अग्नि नियन्त्रक निशुल्क रिफिल गर्ने व्यवस्था गर्ने, विपद न्यूनिकरणका कार्यक्रममा साझेदारी गर्ने, युवालाई व्यवसायमा लाग्न प्रेरित गर्न नविनतम आइडिया छनौट गर्न र सफल व्यवसायका लागि व्यवसाय संवद्र्धन केन्द्र व्यवस्थितरुपमा संचालन गर्ने, महिला तथा युवा उद्यमशिलता सशक्तिकरणका कार्यक्रम संचालन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा करिब तीन करोडको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । महोत्सवमा विद्यार्थीलाई टिकटमा २० प्रतिशत छुट दिने र जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाउने अध्यक्ष केसीले बताए । पत्रकार सम्मेलनको सहजीकरण महासचिव भद्र बहादुर वलीले गरेका थिए ।