
दाङ, १३ मंसिर ।
एमाले महासचिव शंकर पोखरेलको गृहजिल्लामा महाधिवेशन प्रतिनिधि चयन विवादित बनेको छ । सर्वसम्मत चयन भनी २३ जनाको नाम सार्वजनिक गरिएकोमा ३ वटा गाउँपालिकालाई नील बनाइएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् ।
क्षेत्र नम्वर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको १२ नम्वर वडाबाट २ जना र बबई गाउँपालिकाबाट २ जना महाधिवेशन प्रतिनिधि छनोट हुँदा सोही क्षेत्रकै दंगीशरण र शान्तिनगर गाउँपालिबाट १ जना पनि महाधिवेशन प्रतिनिधि परेनन् । ती पालिकाका नेता तथा कार्यकर्ताले निराश जनाएका छन् ।
दंगीशरण पालिका सचिव खुसीराम चौधरीले कतै एउटै वडाबाट २ जना कतै पालिका नै शून्य बनाउनु न्यायसंगत नभएको बताए ।
‘हाम्रो पालिका शून्य बनाइएको छ । कसरी पार्टीका लागि काम गर्ने जाँगर चल्छ ?’
त्यसैगरी क्षेत्र नम्वर ३ कै शान्तिनगर र क्षेत्र नम्वर २ को बंगलाचुली गाउँपालिकाबाट प्रतिनिधित्व शून्य छ । सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि घोराही उपमहानगरबाट ८ जना छन् । तुलसीपुरबाट ७ जना छन् ।
एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले महासचिव शंकर पोखरेलको निर्देशन अनुसार महाधिवेशन प्रतिनिधि छनोट गरिने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर,महासचिवको सचिवालयले भने महासचिवले प्रतिनिधि छनोटमा कुनै हस्तक्षेप नगरिएको दाबी गरेको छ ।
विधि विधान र मापदण्डविपरीत प्रतिनिधि चयन गरिएको भन्दै केन्द्रमा उजुरीसमेत परेको छ । त्यस्तै आकांक्षी सुरेश गौतमले स्वेच्छारी लादिएको भन्दै प्रतिनिधि छनौटको सम्पूर्ण प्रक्रिया तत्काल खारेज गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।
महाधिवेशन छनोटमा भूगोलको प्रतिनिधित्व गराउन नसकेका एमाले दाङका पदाधिकारी नेता छनोटमा समेत चुकेका छन् । क्षेत्र नम्बर २ बाट आकाङ्क्षी तुलसीपुर उपमहानगरका मेयर टीकाराम खड्कालाई प्रतिनिधि छनोट गरिएको छैन । उनी पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।
महाधिवेशन प्रतिनिधि छनोटमा उपाध्यक्ष मनोहर बुढाथोकी हाबी भएको स्रोतको दाबी छ । जिल्ला कमिटीका पाँचैजना पदाधिकारी प्रतिनिधि परेका छन् । आफू पनि जानुपर्ने भएकाले बुढाथोकीको प्रस्तावमा कोहीले असहमति नजनाएको बताइन्छ ।
‘मनोहर हावी हुनुभयो । उहाँले आफ्नो दैनिक खर्चपानी जुटाउने र गाडी चढाएर घुमाउने सामान्य कार्यकर्तालाई समेत छनोट गर्नुभएको छ । केही भन्योकी महासचिवको निर्देशन भनेर हामीलाई हकार्नुहुन्छ’, एक पदाधिकारीको दाबी छ ।
महाधिवेशन प्रतिनिधिमा दाबेदार प्रस्तुत गरेकी एमाले दाङकी नेतृ माया पौडेल रावतले महाधिवेशन प्रतिनिधि छनोट जबर्जस्ती गरिएको भन्दै बुढाथोकी एमाले दाङमा रहेसम्म शंकर पोखरेलले चुनाव नजित्ने आरोप लगाएकी छन् ।
‘सुरेश गौतमको मात्रै होइन आपत्ति । दाङ जिल्लाका कार्यकर्ता सबैको हो ।’ उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखेकी छन् ‘जबसम्म एमाले पार्टीमा मनोहर बुढाथोकी रहन्छ,तबसम्म दाङमा शंकर पोखरेलको हार हुनेछ । यो दाङका नेता, कार्यकर्ता र जनता सबैले लेखेर राख्नुस् ।’ साभारः नेपालप्रेस



लाइभदाङ । १४ मंसिर २०८२, शनिबार १०:१७ बजे