
दिपक बोहरा
दाङ, १० मंसिर ।
दाङको घोराही–तुलसीपुर चारलेन सडकको काम धमाधम भइरहेको छ । गुर्जे खोलादेखि सुरु भएको काम अहिले नारायणपुरसम्म पुगेको छ । निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका कन्ट्रयाक्ट म्यानेजर सुनिल ढुंगानाका अनुसार अहिले पाँच वटा जेसीवीले माटो ‘फिलिङ्ग’ गर्ने र झाडी फाल्ने काम गरिरहेका छन् । अबको केही दिनमा थप तीन वटा जति जेसीवी थप्ने तयारी रहेको उनको भनाई छ । अहिलेको काम अनुसार ४० दिनमा तुलसीपुरसम्म काम गर्न सकिन्छ । तर, ग्राबेल र कालोपत्रेका काम तुलसीपुरसम्म गर्न तीन वर्षको सम्झौता भएकाले अहिले नै झाडी हटाए पनि पुनः फैलिन सक्ने भएकाले हापुरखोलासम्म माटो फिलिङ्ग गर्ने तथा झाडी फाल्ने काम हुने उनले बताए । अबको एक हप्तापछि मजदुरहरु समेत ल्याएर काम गर्ने तयारी रहेको छ ।
घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवा सम्म चारलेन बनाइने गरि सम्झौता भएपनि पहिलो चरणमा गुर्जखोलादेखि काम सुरु भएको हो । उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्रे हुनेछ, भने चौडाइ चार लेनको हुनेछ । बीचमा बीचमा मेडिएन र दुबैतर्फ २/२ लेनको हुने उनले बताए । जसमा बजार क्षेत्रमा फुटपाथ सहितको चारलेन हुनेछ, भने अन्य स्थानमा चारलेन मात्रै हुनेछ ।
सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रेको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । चारलेनकै कामको सहजताकालागि सडक खण्डकै बेलझुण्डी रंगशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गर्ने, पानीका लागि डिप बोरिङ खन्ने र त्यहीँ साइड अफिस खोल्ने कामसमेत भइसकेको उनले बताए ।
सडक सुधार आयोजना अन्तर्गत मदन भण्डारी सडक मार्ग परियोजना अन्तर्गत ठेक्का सम्झौता भएको थियो । तर, निर्माणको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाई ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्रे हुनेछ । जसमा ढुंगा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ । यसले सडकलाई थप मजबुत बनाउनेछ । सम्झौता भएको मितिले ३६ महिनामा सक्ने गरि सम्झौता भएको सडक डिभिजन कार्याल दाङका प्रमुख दिपेन्द बहादुर विष्टले बताए । गएको २४ असारमा श्री दिवा–बन्दन भगवति जेभीसंग सम्झौता भएको हो । भ्याट बाहेक २ अर्व २४ करोड ५६ लाखमा उक्त सडक चारलेनको काम हुन लागेको हुन् ।
सोही सडक चारलेन बनाउनकालागि यस अघिको निर्माण कम्पनीले कम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो । तत्कालिन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयानुसार ३ करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोही अनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणकालागि प्रक्रिया अघि बढिसकेको छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ११ मंसिर २०८२, बुधबार ११:४३ बजे