औद्योगिक ग्राममा फोहर प्रशोधन उद्योग

दाङ,९ मङ्सिर ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ स्थित औद्योगिक ग्राम निर्माणाधिन क्षेत्रमा सरसफाई प्रशोधन गर्ने उद्योगको सिलन्यास गरिएको छ ।

११ औं उद्योग दिवसको अवसरमा मंगलबार प्रशोधन उद्योगको सिलन्यास गरिएको हो । स्मार्ट मल्टि कन्सेप्ट ग्रुप प्रालिले फोहर संकलन, प्रशोधन गरेर प्लाष्टिकजन्य बस्तु निर्माणकालागि कच्चा पदार्थ तयार गर्ने छ । सञ्चालक रविन्द्र विक्रम केसीका अनुसार बजारमा अहिले फोहर ब्यबस्थापन चुनौतिपूर्ण रहेकाले उक्त उद्योग स्थापना गर्न लागिएको हो ।

त्यस्तै सोही उद्योगले कृषिजन्य बस्तु खरिद गर्ने, प्रशोधन गरेर बजारीकरण गर्ने समेत योजना बनाएको उनले बताए । अहिलेको युवा जनशक्तिलाई स्वदेशमै रोक्नुकासाथै कृषि क्षेत्रमा देखिएको बजारीकरणको समस्यालाई रोक्नकालागि यस्तो कार्य गरिएको उनको भनाई थियो ।

त्यस्तै उनले तुलसीपुरमा अग्नी नियन्त्रणकालागि फायर फाइटरको ‘रिफुलिङ’ समेत गर्ने गरि तयारी गरेको बताए ।“हामीले गर्न खोजेको नितान्त समाजिक अभियान हो”,उनले भने “यहाँको फोहर प्रशोधन गरेर रबर उद्योग, कृषिको बजारीकरण र अग्नी नियन्त्रण कार्यमा हाम्रो भूमिका रहनेछ ।” करिब ३३ लाख लागतमा उक्त संरचना निर्माण गर्न लागेको उनको भनाई छ ।

उक्त उद्योगको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सिलन्यास गरेका हुन् । त्यस अवसरमा उनले उद्योग ग्राममा पहिलो उद्योगका रुपमा फोहर प्रशोधन उद्योग आएको बताए । साथै उनले सोही उद्योग ग्राममा आफै संरचना बनाएर ब्यबसाय सञ्चालन गर्न चाहेमा पाँच बर्षको कर छुट गर्ने समेत बताए ।


उपमहानगरपालिकाले संरचना बनाएमा भने न्यूनतम कर तिर्ने ब्यस्था मिलाउने बताए । साथै उद्योगग्रामको सुरक्षाकालािग आवाससहित नगर प्रहरीको समेत ब्यबस्था गर्ने प्रमुख खड्काले बताए । ग्वारखोलाको किनारमा उक्त उद्योग ग्राम निर्माण हुन लागेको हो । जहाँ एकसय ३ जनाले अतिक्रमण गरेर घर टहरा बनाएका थिए । ति घर टहरा बनाएकालाई प्रति घरलाई डेढ कठ्ठा दिएर उद्योग ग्रामकालागि जग्गा छुट्याईएको थियो । हाल १३ विघा जग्गामा उद्योगग्राम निर्माण गर्न थालिएको छ । केही समय अघि उद्योगग्राम स्थलमा पर्खाल समेत लगाईएको छ । सोही उद्योगग्राम क्षेत्रमा संरचना निर्माणकालागि उपमहानगरपालिकाले ५०लाख बजेट समेत छुट्याएको छ ।

औद्योगिक ग्राम निर्माण भएमा ब्यबसायीहरुलाई निकै सहज हुने ग्रिल ब्यबसायी ओमबहादुर वलीले बताए । अहिले बजारमा हुँदा निकै समस्या हुने गरेको समेत उनको भनाई छ । साथै छापाखाना ब्यबसायी शालिकराम बस्नेतले पनि उद्योगग्राम निर्माण भएमा आफूहरुलाई भाडा पनि सस्तो हुने र सहज पनि हुने बताए ।

उद्योग दिवस, औद्योगिक ग्राम स्थलमा
यसैबीच ११ औं उद्योग दिवस औद्योगिक ग्राम स्थलमै मनाईएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको सहकार्यमा कार्यक्रम भएको हो । उपमहानगरपालिकाका आर्थिक शाखा प्रमुख माधव वलीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा तुलसीपुर १६ का वडाध्यक्ष शिवानन्द डाँगी, तुलसीपुर ७ का अध्यक्ष रामबहादुर जीसी, पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर बैंकर्स क्लबका अध्यक्ष रन्जन कोइराला, ग्रिल व्यवसायी ओम वली, मुद्रण व्यवसायी शालिकराम बस्नेत, क्षेत्र खड्का, राप्ती अंचल ढुवानी व्यवसायी समितिका सचिव चिरन्जीवी पौडेल, ब्यबसायी प्रकाश वली, तुलसीपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष खड्कालगायतले औद्योगिक ग्राम निर्माण भएपछि सहज हुने बताएका थिए ।

तुलसीपुर उपमहानगरपालिका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले गरेका थिए । त्यस अवसरमा तुलसीपुरका प्रतिष्ठीत उद्योगी तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतलाई सम्मान पत्रले सम्मान गरिएको छ ।