नदिजन्यवस्तु उत्खनन्मा सेटिङ मिलाउन प्रहरी प्रशासनदेखि पत्रकारलाई लाखौँ रकम दिएको आरोप

देउखुरी, २३ असार ।
राप्ती नदीमा कुलो खन्ने नाममा ढुंगाजन्य वस्तु उत्खनन् गर्दा ‘सेटिङ मिलाउन’ जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मका व्यक्तिलाई लाखौं रकम घुस दिएको गम्भीर आरोप लागेको छ ।

जेठ महिनाको अन्तिमतिर राप्ती गाउँपालिकाले कुलो खन्ने नाममा राप्ती नदी उत्खनन् गर्न अनुमति दिएको थियो । सोही अनुमति अनुसार ढुंगाजन्य वस्तु उत्खनन्को लागि सेटिङ मिलाउन लाखौं रकमको लेनदेन भएको गम्भीर आरोप लागेको हो । उत्खनन्कै ठेक्कामा संलग्न व्यक्ति प्रकाश शाहीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका एसपी, लमहीका इन्स्पेक्टर र भालुबाङ प्रहरी, गढवाका घुमुवा, जिल्लास्थित राष्ट्रिय अनुसन्धान, गढवा गाउँपालिका–१, राप्ती गाउँपालिका र त्यहाँ कार्यरत कर्मचारी र भालुबाङस्थित तीनजना पत्रकारलाई मोटो रकम बुझाएको गम्भीर आरोप लागेको हो ।

गत जेठ महिनामा कुलो सरसफाइको नाममा उत्खनन् हुँदा समुदायस्तरबाट विरोध भएपछि नयाँ युगबोध राष्ट्रिय दैनिकमा २०८० जेठ २० र २८ गते अवैध उत्खनन्को समाचार प्रकाशन गरिएको थियो । तर किसानको समस्या देखाएर उत्खनन् गर्न राप्ती गाउँपालिकाले अनन्त कन्स्ट्रक्सन राप्ती–७ (ज्ञानु केसी, पवनकुमार जिसी, वसन्त कुँवर र प्रकाश शाही) लाई उत्खनन् सहमति दिएको थियो । ठेकेदार चार जनामध्येकै एक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत रहनुभएका प्रकाश शाहीले बिहीबार राति आफ्नो फेसबुकमा स्टाटस लेख्दै जिल्लाका उच्च निकायका अधिकारीसहितलाई सेटिङका लागि रकम दिएको भन्दै पोष्ट गर्नुभएको थियो ।

फेसबुक पोष्टमा राखिएको सामग्रीमा उहाँले जिल्लाका प्रहरी प्रमुखलाई तीन लाख, प्रमुख जिल्ला अधिकारीलाई एक लाख, भालुबाङ प्रहरीलाई एक लाख २५ हजार, राप्ती गाउँपालिका कार्यालयलाई पाँच लाख ४५ हजार, सशस्त्रको एसपीलाई एक लाख, लमहीका इन्स्पेक्टरलाई ४० हजार, जिल्लाको अनुसन्धान विभागलाई ३५ हजार, बाबुराम गढवा वडाध्यक्षलाई ५९ हजार सात सय, सन्तोषकुमार गुप्तालाई २५ हजार, विदुर एमसीलाई १० हजार, पत्रकार घनश्यामलाई १० हजार रकम बुझाएको आरोप छ ।

आरोपसहित सार्वजनिक गरिएको विवरणमा गाउँपालिकालाई राजश्व रकम २२ लाख दाखिला गरेको उल्लेख छ । सोही अनुरुप नै गाउँपालिकाले पनि नगद नौ लाख र बाँकी १३ लाख गरी २२ लाख राजश्व बुझेको पुष्टि गरेको छ । गाउँपालिकाले अनन्त कन्स्ट्रक्सन प्रालि राप्ती गाउँपालिका–७ लाई बढाबढ सूचनाको आधारमा उत्खनन् गर्न दिएको थियो । सात दिनको बढाबढको सूचना निकालेर ठेक्का लगाइएको थियो । २२ लाखको राजश्व तिरेर काम गर्न त्यतिनै रकम सेटिङ मिलाउन खर्च भएको देखाइएको छ । शाहीले फेसबुकमा लेख्नुभएको छ– ‘दाङका सिडियो, एसपी, राजनीतिक दलका नेता, वडाध्यक्ष, पत्रकार, पालिका कर्मचारी सबका सव यति भोको छन् । म बबुरो भ्रष्टाचारविरुद्धको अभियानमा छु । राप्ती गाउँपालिकाको क्षेत्रमा पर्ने प्रगन्ना कुलो सरसफाइको राजश्व तिरेर गरेको काममा व्यवसायीहरुले कहाँ–कहाँ कति बुझाए, निकायहरुले जनतालाई जवाफ दिनुपर्छ ।’


विवरणमा यस्ता धेरै व्यक्तिका नाम छन्, जसलाई रकम बुझेको आरोप लगाइएको छ तर रकम कसरी बुझे, के आधारमा बुझाइयो भन्ने केही खुलाइएको छैन । उत्खनन् गर्दा घाटा लागेको भन्दै काममा संलग्न स्क्याभेटर, डोजर, टिप्परको भुक्तानीमा ढिलाइ भएको र सो विषयमा बुझ्दा धेरै रकम सेटिङ मिलाउन खर्च गरिएको देखिएको शाहीले बताउनुभयो । ‘व्यवसाय गर्न नेपालको कानुनले रोकेको छैन । साथीभाइको आग्रहमा चिनेका साथीको मेसिन झारिएको थियो । काम गरेको भुक्तानीमा ढिलाइ हुँदा रकमभरी सेटिङ मिलाउन बाहिर गएको देखियो’– उहाँले भन्नुभयो– ‘यो घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने पक्षमा म पनि छु ।’

भर्पाई नभएको र कुनै आधार प्रमाण नभएको भन्दै आरोपितहरुले प्रमाणित गर्न चुनौती दिएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले घटनाको सत्यतथ्य जाँच गर्न प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । ‘फेसबुकमा कसले, के आधारमा लेख्यो । त्यसबारेमा बुझ्न प्रहरीलाई भनेको छु । हाम्रा नाम बेचेर कसैले पैसा उठायो कि, त्यत्तिकै लेखियो कि यस बारेमा बुझ्न भनेको छु’– उहाँले भन्नुभयो– ‘कसलाई रकम बुझाएको हो प्रमाणित गर्नुप¥यो, अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु ।’

जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले घटनाको अनुसन्धानमा प्रहरी जुटेको बताउनुभयो । ‘प्रमुख जिल्ला अधिकारीज्यूसँग यस बारेमा छलफल भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आएको विषय सत्यतथ्य के हो बुझ्छौं’– उहाँले भन्नुभयो– ‘हाम्रा नाममा कसले कहाँ पैसा बुझ्यो, बुझ्ने को थियो प्रमाणित होस्, होइन भने लेख्ने व्यक्तिलाई कारवाही हुन्छ ।’

यता नदीजन्य वस्तु उत्खनन् कार्यमा संलग्न तीनजना निर्माण व्यवसायीले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्ने प्रकाश शाहीलाई दोषी देखाउनु भएको छ । विज्ञप्तिमा प्रगन्ना कुलो सरसफाइ गर्न पालिकाले खोलेको ठेक्कामा ज्ञानु केसी, पवनकुमार जिसी, वसन्त कुँवर र प्रकाश शाहीले ठेक्का लिएको उल्लेख छ । ‘हामीहरुलाई थाहा नदिई प्रकाश शाहीले आफ्नो फेसबुकमा हाम्रो लेखापाल किरण अधिकारीलाई धाकधम्की दिएर विभिन्न व्यक्तिको नाममा खेस्रा तयार गर्न लगाई चरित्र हत्या गर्ने मनसायले सामाजिक सञ्जालमा हालेको स्टाटस गलत भएको भनी हामी तीनजना ठेकेदार पुष्टि गर्दछौं’ भनिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नदीजन्य वस्तु उत्खनन् कार्यमा राजश्वबाहेकको लेनदेन भएको देखिएको बारेमा अनुसन्धान गरिने बताउनुभयो । ‘हाम्रो पालिकाभित्रका केही कर्मचारीले रकम बुझेको पनि आरोप लागेको छ । सत्यतथ्य के हो, पत्ता लगाउँछौं’– उहाँले भन्नुभयो– ‘पालिका अध्यक्षले पाँच पैसा पनि रकम बुझेको देखिए जस्तोसुकै कारवाही भोग्न तयार छु ।’ यस्तै आरोप लागेका पत्रकार सन्तोषकुमार गुप्ताले प्रमाणित गर्न चुनौती दिनुभएको छ । ‘रजिस्टरमा खेस्रा लेखेर रकम बुझेको प्रमाणित कसरी हुन्छ । पैसा लेनदेन भएको कुनै प्रमाण छ ? म यो घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दछु’– उहाँले भन्नुभयो– ‘आरोप पुष्टि भयो भने जस्तोसुकै सजाय भोग्न तयार छु ।’ यस्तै गढवा–१ का अध्यक्ष बाबुराम अधिकारीले पनि आरोपको खण्डन गर्नुभएको छ । साभारः नयाँ युगबोध