दाङका दुई मतदान स्थलमा भएन मतदान

तुलसीपुर(दाङ), २१ फागुन ।
दाङको दुईवटा मतदान केन्द्रमा अहिलेसम्म एकजना पनि मतदाता मतदान गर्न उपस्थित भएका छैनन्। दाङको बबई गाउँपालिका वडा नम्बर ७ मलई स्थित देउती मावि तल्लो मलई र वडा नम्बर १ मा अवस्थित जनता मावि जिला मतदान केन्द्रमा अहिलेसम्म एकजना पनि मतदाता निर्वाचनमा सहभागी भएका छैन् । चुनाव आउनुभन्दा एक महिना अगाडिदेखि बस्ती स्थानान्तरण नभए निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका स्थानीयहरू आफ्नो गुनासो राज्य पक्षबाट सुनवाई नभएपछि चुनावमा सहभागी नहुने अडानसहित निर्वाचन बहिष्कार गरेको बस्ती स्थानान्तरण सङ्घर्ष समितिका अध्यक्ष चन्द्रबहादुर सारू मगरले बताउनुभयो ।

निर्वाचनका लागि मतदान केन्द्रमा सुरक्षा व्यवस्थासहित सबै ब्यवस्था मिलाईएको छ । मतदानमा खटिएका कर्मचारीहरु विहान सातै बजेबाट तयारी अवस्थामा बसेका छन् तर पनि मतदान गर्न मतदाता उपस्थित नभए पछि त्यहाँको मतदान प्रक्रिया प्रभावित भएको छ । देउती मावि मलईका मतदान अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । जहाँ पाँचसय ३० मतदाता छन् ।


त्यस्तै जनता मावि जिलामा पनि मतदानका लागि कर्मचारी सुरक्षाकर्मीहरू बिहानैदेखि तयारी अवस्थामा बसेका छन्। ६८२ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा पनि अहिलेसम्म एकजना पनि मतदाता उपस्थित नभएको मतदान अधिकृत चिरञ्जिवी खड्काले बताउनुभयो ।

मध्यवर्ति क्षेत्रका बासिन्दाहरुको बस्ती स्थानान्तरका लागि पालिकाले सिफारिस गरिसकेको छ ।