तुलसीपुरको एक विद्यालयमा एकलौटी शिक्षक नियुक्ती गर्न खोजको भन्दै आपत्ति

तुलसीपुर
२९ पुस / तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाह स्थित आधारभूत विद्यालय कटाहमा एकलौटी ढंगले शिक्षक तथा शिक्षिका नियुक्त गर्न लागिएको भन्दै अभिभावकहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले विहीबार एक ध्यानाकर्षण पत्र लेख्दै आपत्ति जनाएका हुन् । तीन जना शिक्षक आबश्यक परेको भन्दै विद्यालयले आवेदन खोलेको थियो । जसमा १३ जनाको आवेदन परेको थियो । १३ जना मध्ये पहिलो चरणको परीक्षा मार्फत ५ जनालाई छनोट गरिएको थियो ।

ति पाँच जनालाई लिखित परीक्षामा सहभागि बनाएर तीन जना छनोट गर्ने तयारी भइरहेको छ । तर, उनीहरुलाई क्षमताको भन्दा पनि नातावाद तथा कृपावादका आधारमा कर्मचरी छनोट गरिएको त्यहाँका स्थानीयले आरोप लगाएका छन् । १५ जनाले संयुक्त हस्ताक्षर गरि निवेदन दिएका हुन् ।

दोस्रो चरणको परीक्षामा सहभागि भएका पाँच जना मध्ये सरिता भण्डारी सोही विद्यालयका प्रधानध्यापक टंक भण्डारीको छोरी हुन् । काँग्रेसका क्षेत्रीय सभापति खिमबहादुर वली निकट मानिने उर्मिला चन्द र तुलसीपुरका एक वडा सदस्यका नातेदार सरस्वति डाँगीलाई नियुक्ती गर्ने गरि षडयन्त्र गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।


उनीहरु तिनै जना काँग्रेस निकट भएको स्रोतले बताएको छ । काँग्रेसले सबै आफ्ना मान्छेलाई शिक्षक नियुक्त गर्न खोजेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । उनीहरुले यो विज्ञापन नै रद्द गर्नुृपर्ने बताएका छन् ।

तर, परीक्षा निष्पक्ष रुपमा भइरहेको पदपूर्तिकालागि नियुक्ती गरिएका विज्ञ यज्ञ अधिकारीले बताए । उनका अनुसार दुई चरणमा परीक्षा बनाएको र पहिलो चरणमा एकसय पूर्णाअंकको परीक्षा बनाएकोमा ५० भन्दा बढि ल्याउने ५ जनालाई दोस्रो परीक्षामा सहभागि गराईएको हो ।

दोस्रोको परीक्षा भइरहेकाले त्यो परीक्षा सकिएपछि मात्रै नतिजा प्रकाशन गरिने उनको भनाई छ । साथै परीक्षा सञ्चालनकालागि नगर शिक्षा समिति, बिभिन्न शिक्षासंग सम्बन्धित संघसंस्थाहरु सहभागि रहेको भन्दै निस्पक्ष रुपमा परीक्षा सञ्चालन भएको उनले बताए ।