
दाङ,२५ कात्तिक । हातले छुने वित्तिकै डस्टविन खुल्छ, त्यसमा फोहर हाल्ने र त्यसपछि आफै बन्द हुन्छ । जसलाई भनिन्छ‘स्मार्ट डस्टविन’ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित डिभाईन टेम्पल एकाडेमीका विद्यार्थीहरुले सोही डस्र्टविन बनाएर प्रर्दशनीमा राखेपछि सबैजनाको ध्यान तान्यो ।
विदेश सामाजिक सञ्जाल मार्फत देखेका विद्यार्थीहरुले त्यो डस्टविन बनाएका थिए । त्यति मात्रै होईन्, रिमोर्टको सहायताले चल्न सक्ने कार, नजिक ताली बजाउँदा बल्न सक्ने बक्ति समेत बनाएर प्रदर्शन गरेका थिए ।
सोमबार विश्व विज्ञान दिवसका अवसरमा विद्यार्थीहरुले त्यसरी विज्ञान प्रर्दशनी गरेका हुन् । विद्यालयकै प्राङगणमा विद्यार्थीहरुले भूकम्प आउदा घण्टी बज्ने यन्त्र,घरमा कोही आउँदा घण्टी बज्ने यन्त्र, ज्वालामुखी विष्फोटको नमूना, डीएनए मोडेल, हाइड्रोलिक जेसीबी, विपत व्यवस्थापन नमूना, हाइड्रोलिक ब्रिज, वनस्पतिकोष, प्राणीकोष, सोलार सिस्टम, अग्नि सूचक यन्त्र, होम सेक्युरिटी सिस्टम, पेरिस्कोप मोडेल, सोलार हाउस, युरिनरी सिस्टम, मानव मुटु, लाभा ल्याम्प, भाइरस मोडेल, , हाइड्रो इलेक्ट्रिसिटी मोडेल, वाटर साइकल, प्रदूषण व्यवस्थापन, पाचन प्रणाली मोडेल लगायतका नमूनाहरू प्रदर्शन गरेका थिए ।
त्यस अवसरमा राप्ती बबई क्याम्पस तुलसीपुर दाङका प्रमुख गणेश पार्धेले यस्ता कार्यले विद्यार्थीहरुमा सिर्जनात्मक क्षमताको विकास हुने बताए । उनले यस्ता कार्यलाई विद्यालयले प्रात्साहन गर्नुपर्ने समेत बताए ।
किताबी ज्ञान मात्रै नभई प्रायोगात्मक कुरामा पनि विद्यार्थीहरुलाई जोड्न यस्तो कार्यक्रम गर्ने गरेको विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेले बताए । उनले विद्यार्थीहरुलाई विज्ञानको प्रयोगात्मकमा बढि जोड दिने गरेको बताए ।
विद्यालयका प्रिन्सिपल भोजराज न्यौपानेको अध्यक्षता तथा राप्ती बबई क्याम्पस तुलसीपुरका क्याम्पस प्रमुख गणेश पार्धेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विशिष्ट अतिथि प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीका वरिष्ठ कन्सल्टेन्ट डा. देवराज केसीले विज्ञानले मानव जीवनलाई सहज बनाउने भूमिका खेल्ने बताए ।
कार्यक्रममा विशिस्ट अतिथि तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दिप भुसालले विद्यार्थीहरुको यो क्षमतालाई बजारमा समेत उपयोग गर्नुपर्ने बताए । विद्यालयका भाइस प्रिन्सिपल महेश लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक पूर्ण केसी मुस्कानले गरेका थिए ।



लाइभदाङ । २६ कार्तिक २०८२, मंगलवार ००:३३ बजे