वन क्षेत्रको दिगो व्यवस्थापनका लागि सहकार्य आवश्यक

प्रिया स्मृती गजमेर
देउखुरी,३ असार ।
वन तथा वातावरण संरक्षण, सामुदायिक वनको विकास र वन क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका विषयमा डिभिजन वन कार्यालय दाङ र स्थानीय तहबीच समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकमा वन संरक्षण, वातावरणीय सन्तुलन, सामुदायिक वनको प्रभावकारी व्यवस्थापन, वनजन्य स्रोतको सदुपयोग तथा वन क्षेत्रबाट सञ्चालन हुने विकासमुखी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले वन क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायहरूबीच समन्वय, सहकार्य र साझेदारीलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले वन क्षेत्र केवल प्राकृतिक सम्पदा मात्र नभई वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण र स्थानीय समुदायको जीवनयापनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउनुभयो । उहाँले वन संरक्षणको जिम्मेवारी कुनै एक निकायको मात्र नभई स्थानीय सरकार, वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह तथा आम नागरिक सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

वन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नियमित समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको भन्दै उहाँले सम्बन्धित निकायहरूबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले वन संरक्षण र विकासबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । स्थानीय तहले वन क्षेत्रसँग सम्बन्धित विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्दा डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि समन्वयलाई थप मजबुत बनाइने बताउनुभयो ।

नगर प्रमुख चौधरीले वन क्षेत्र स्थानीय समुदायको आयआर्जन, पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षणसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसको दिगो व्यवस्थापनमा सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय तह र वन कार्यालयबीच हुने सहकार्यले विकास निर्माणका कामहरूलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।


लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले सामुदायिक वनहरूलाई संरक्षणमा मात्र सीमित नराखी स्थानीय विकास र आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरूको सहभागिता, वनमा आधारित उद्यमशीलता विकास, वातावरणीय चेतना अभिवृद्धि तथा हरियाली प्रवर्द्धनका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । वन क्षेत्रको दिगो व्यवस्थापनका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

डिभिजनल वन अधिकृत गणेश बहादुर खड्काले वन कार्यालयले संरक्षण, संवर्द्धन र वन व्यवस्थापनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले वन डढेलो नियन्त्रण, अवैध कटानी रोकथाम, वृक्षारोपण, जैविक विविधता संरक्षण तथा वनजन्य स्रोतको दिगो उपयोगका लागि स्थानीय तहको सहयोग आवश्यक रहेको बताउनुभयो ।

वन क्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रमहरू सफल बनाउन स्थानीय सरकारसँगको समन्वयलाई अझ सुदृढ बनाइने उहाँले उल्लेख    गर्नुभयो । खड्काले वन संरक्षणका अभियानमा समुदायको सहभागिता बढ्दै जानु सकारात्मक पक्ष भएको भन्दै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसालले सामुदायिक वनले वन संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले सामुदायिक वनहरू स्थानीय समुदायको आर्थिक, सामाजिक तथा वातावरणीय विकासको आधार बन्दै गएको उल्लेख गर्दै वन उपभोक्ता समूहहरूको क्षमता अभिवृद्धि, पारदर्शिता र स्रोत व्यवस्थापनमा थप ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
भुसालले वन संरक्षण र सामुदायिक वनको सुदृढीकरणका लागि स्थानीय तह, वन कार्यालय र उपभोक्ता समूहबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा सहभागी जनप्रतिनिधि, वन क्षेत्रका सरोकारवाला तथा सामुदायिक वनका प्रतिनिधिहरूले वन तथा वातावरण संरक्षणका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने निर्णय गरेका छन ।

वन क्षेत्रको दिगो व्यवस्थापन, जैविक विविधताको संरक्षण, सामुदायिक वनको विकास तथा स्थानीय समुदायको सहभागितालाई केन्द्रमा राखेर आगामी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो । बैठकले वन संरक्षण र व्यवस्थापनका क्षेत्रमा स्थानीय तह र डिभिजन वन कार्यालयबीचको साझेदारीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।