दाङमा दुई अटो आपसमा ठोक्किँदा चार जना घाइते

दाङ, १८ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–२ डाँडाचिस नजिकै शनिबार बिहान दुई अटो आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेहरुमा बबई गाउँपालिका–७ बस्ने ३८ वर्षीय चालक गोविन्द बहादुर वली, २८ वर्षीया रिता वली, ५० वर्षीया यकु कुमारी वली र २५ वर्षीया दिपिका वली रहेका छन् । घाइते सबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने रिता वलीलाई थप उपचारका लागी नेपालगंज रिफर गरिएको छ ।

प्रहरीका अनुसार बिहान करिब ११ बजे तुलसीपुरबाट बागर तर्फ जाँदै गरेको रा १ ह ६०५८ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०२–००१ ह ०३१८ नम्बरको अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।


यसैबीच दुर्घटनामा संलग्न रा १ ह ६०५८ नम्बरको अटो चालक दंगीशरण गाउँपालिका–६ थपगाउँ बस्ने ३१ वर्षीय बालकृष्ण खड्कालाई इलाका प्रहरी चौकी बालापुरले नियन्त्रणमा लिएको छ ।

दुवै अटोमा सामान्य क्षति पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी चौकी बालापुरले जनाएको छ ।