राप्तीमा ‘संरक्षण’ परियोजनाको सामाजिक परीक्षण सम्पन्न

मसुरिया, ४ असार ।
दाङको राप्ती गाउँपालिकामा सञ्चालित ‘संरक्षण’ परियोजनाको सामाजिक परीक्षण बिहीबार मसुरियामा सम्पन्न भएको छ।

मधेश मानव अधिकार गृह (माहुरी होम), कपिलवस्तुको आयोजनामा भएको कार्यक्रम परियोजना संयोजक रिखिराम हरिजनको अध्यक्षता तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा उपाध्यक्ष चौधरीले अल्पसंख्यक तथा लोपोन्मुख समुदायका अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताउँदै स्थानीय सरकार सेवा तथा सुविधामा सबै नागरिकको समान पहुँच विस्तार गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी परियोजना संयोजक हरिजनले परियोजनाअन्तर्गतका गतिविधि, उपलब्धि, खर्च विवरण तथा प्रभावबारे जानकारी प्रस्तुत गर्नुभयो।


सामाजिक परीक्षणका क्रममा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिताबारे समीक्षा गर्नुका साथै सहभागीहरूबाट सुझाव संकलन गरिएको थियो।

पीबीआई नेपाल तथा जर्मनीको सिभिल पिस सर्भिसको सहयोगमा सञ्चालित उक्त परियोजनाले अल्पसंख्यक तथा लोपोन्मुख समुदायको अधिकार संरक्षण र राज्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्य लिएको छ।

जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रमकाे सहजीकरण सुशील बस्नेतले गर्नु भएको थियो ।