दाङमा चार नाल भरुवा बन्दुक बरामद

दाङ, ३ असार ।
दाङमा प्रहरीले चार नाल अवैध भरुवा बन्दुकसँगै बन्दुकमा प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ ।
सामुदायिक वन क्षेत्रमा प्रहरीले गस्तीका क्रममा चार नाल अवैध भरुवा बन्दुक र बुन्दुकमा प्रयोग हुने हुने विभिन्न सामग्री बरामद गरेको हो । असार २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक असिम हमालको कमाण्डमा खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जुमिलकुला लेडुवा सामुदायिक वनबाट एक नाल अवैध भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिएका छन् ।


प्रहरी नायव उपरीक्षक केसीका अनुसार असार ३ गते प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर कुसारीको कमाण्डमा खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका–२ बलारामपुरस्थित गौरी बबई सामुदायिक वन क्षेत्रमा गस्ती गर्ने क्रममा तीन नाल अवैध भरुवा बन्दुक बरामद गरेको हो । सोही स्थानबाट बन्दुकमा प्रयोग हुने ४२ वटा फलामका टुक्रा, २० वटा केप, एक वटा चक्कु र करिव दुई सय ग्राम बारुद समेत जफत गरेको छ । बरामद गरिएका हतियार तथा सामग्री कसले र कुन प्रयोजनका लागि राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको सूचना अधिकारी केसीले जानकारी दिएका छन् ।