बबईका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाए

प्रेमबहादुर राम्जा
दाङ,४ असार ।
समान कामको समान ज्यालालाई मुख्य माग राख्दै बबई गाउँपालिकामा कार्यरत गाउँपालिका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले विभिन्न ७ वटा माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

गाउँपालिका अनुदान शिक्षक सहजकर्ताहरुको प्रतिनीधि टोलीले गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले समान कामको समान ज्याला, पोशाक भत्ता, चाडपर्वको भत्ता, सामाजिक सुरक्षा कोषमा संलग्न गराउनुपर्ने मुख्य माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । बबई गाउँपालिकामा माध्यामिक, निम्न माध्यामिक, प्राथमिक, कार्यालय सहायक र बिद्यालय कर्मचारीका रुपमा गाउँपालिकाले नियुक्त दिए पनि स्थायी सरह सेवा नदिएको भन्दै त्यसको ब्यबस्था गर्नका लागि ज्ञापन पत्र बुझाएका हुन् ।


बबई गाउँपालिका अनुदान शिक्षक सहजकर्ता शिक्षक गोबद्र्धन केसीको नेतृत्वमा गएको शिक्षक प्रतिनीधिहरुको टोलीले विभिन्न ७ बुदाको माग गर्दै ज्ञापन पत्र बुझाएको शिक्षक केसीले जानकारी दिनुभयो । बबई गाउँपालिकामा ३७ जनासम्म पालिका शिक्षक सहजकर्ताको ब्यबस्थापन गर्न सक्ने ब्यबस्था भए पनि हाल ३२ जना कार्यरत रहेको शिक्षक केसीको भनाई छ ।

ज्ञापन पत्र बुझ्दै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले शिक्षकहरुका जायज मागहरुको सम्बोधन गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । बबई गाउँपालिकाले स्थानीय तह सञ्चालनमा आएपछि आन्तरिक रुपमा तलव÷भत्ताको ब्यबस्था गरेर अनुदान शिक्षक सहजकर्ताका रुपमा नियुक्त गरेर बिद्यालय सञ्चालनमा सहयोग गर्दै आएको छ ।