राप्ती गाउँपालिकाद्वारा प्रहरी निरीक्षक ऐरीलाई बिदाइ

मसुरिया, ४ असार।
दाङको राप्ती गाउँपालिकाले इलाका प्रहरी कार्यालय भालुबाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीलाई बिहीबार फेरि भेटौँला कार्यक्रम गरी बिदाइ गरेको छ।

नेपाल प्रदेश प्रहरी कार्यालय, भैरहवा रुपन्देहीमा सरुवा भएपछि गाउँपालिकाले उहाँलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गरेको हो।

साे अवसरमा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले प्रहरी निरीक्षक ऐरीले आफ्नो कार्यकालमा राप्ती क्षेत्रको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

उहाँले समुदायसँगको समन्वय, अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थापनमा ऐरीको योगदान उल्लेखनीय रहेको भन्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।


त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय तह र सुरक्षाकर्मीबीचको सहकार्यलाई थप मजबुत बनाउन उहाँले पुर्‍याएको योगदान स्मरणीय रहने उल्लेख गर्नुभयो।

प्रहरी निरीक्षक ऐरीले राप्ती गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो। उहाँले राप्तीमा कार्यरत रहँदा प्राप्त अनुभव र सहकार्यले आफ्नो व्यावसायिक जीवनलाई थप समृद्ध बनाएको बताउनुभयो।

प्रहरी निरीक्षक ऐरीले करिब १३ महिनासम्म इलाका प्रहरी कार्यालय भालुबाङको कार्यालय प्रमुखका रूपमा कार्यभार सम्हाल्नुभएको थियो।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रिमबहादुर सुनारी मगर, कार्यपालिका सदस्यहरू चम्फा भुसाल, पार्वती सुवेदी, रणबहादुर पुजाली लगायतकाे उपस्थिति रहेको थियो।