विकास र संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्छ- नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
देउखुरी,४ असार ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले वन संरक्षण र विकास निर्माणका गतिविधिलाई सन्तुलित रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । वन तथा वातावरण संरक्षण, सामुदायिक वनको विकास तथा वन क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका विषयमा बुधबार लमहीमा आयोजित डिभिजन वन कार्यालय दाङ र स्थानीय तहबीचको समन्वय बैठकलाई सम्बोधन गर्दै उहाँले विकास र संरक्षण एकअर्काका परिपूरक विषय भएको उल्लेख गर्नुभयो ।

नगर प्रमुख चौधरीले वन क्षेत्र प्राकृतिक सम्पदाको महत्वपूर्ण आधार मात्र नभई स्थानीय समुदायको जीवनस्तर उकास्ने, आयआर्जन बढाउने, पर्यटन प्रवर्द्धन गर्ने तथा वातावरणीय सन्तुलन कायम राख्ने प्रमुख स्रोत भएको बताउनुभयो । वन क्षेत्रको संरक्षण गर्दै त्यसबाट प्राप्त हुने लाभलाई स्थानीय समुदायसम्म पुर्‍याउन सबै सरोकारवाला निकायले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले स्थानीय तहले सडक, खानेपानी, विद्युत विस्तार, पर्यटकीय पूर्वाधार निर्माणलगायत विभिन्न विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दा वन क्षेत्रसँग सम्बन्धित कानुनी प्रक्रिया तथा आवश्यक समन्वयका विषयमा डिभिजन वन कार्यालयसँग निरन्तर सहकार्य गर्दै आएको जानकारी दिनुभयो । विकासका योजनाहरू कार्यान्वयनका क्रममा देखिने समस्या समाधान गर्न र आवश्यक सहजीकरण गर्न वन कार्यालयको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

नगर प्रमुख चौधरीले आगामी दिनमा स्थानीय तह र डिभिजन वन कार्यालयबीचको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताउँदै वन संरक्षणसँगै विकास निर्माणका कामलाई गति दिने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । वन क्षेत्रको दिगो व्यवस्थापनका लागि स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह तथा वन कार्यालयबीच आपसी समझदारी र समन्वय अपरिहार्य रहेको उहाँले बताउनुभयो ।


कार्यक्रममा उहाँले जलवायु परिवर्तन, वन डढेलो, अवैध वन पैदावार ओसारपसार तथा जैविक विविधता संरक्षणजस्ता चुनौतीहरूलाई सामूहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । वन संरक्षणलाई केवल सरकारी निकायको जिम्मेवारीका रूपमा नभई सबै नागरिकको साझा दायित्वका रूपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा सहभागी विभिन्न स्थानीय तहका जनप्रतिनिधि, वन कार्यालयका अधिकारी तथा सामुदायिक वनका प्रतिनिधिहरूले वन क्षेत्रसँग सम्बन्धित नीति, योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती र समाधानका उपायबारे छलफल गरेका थिए । सहभागीहरूले वन संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने तथा स्थानीय समुदायको आर्थिक विकासमा वन क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन समन्वय र सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

समन्वय बैठकले वन तथा वातावरण संरक्षणसँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, विकास निर्माणका योजनामा आवश्यक सहजीकरण तथा वन क्षेत्रको दिगो व्यवस्थापनका लागि स्थानीय तह र डिभिजन वन कार्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।