१४ गतेसम्म तुलसीपुर क्षेत्रमा २४ घण्टा विद्युत आपूर्ति बन्द हुन सक्ने

दाङ, ७ कात्तिक । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले कात्तिक १४ गतेसम्म विद्युत लाइन अवरुद्ध हुन सक्ने जनाएको छ ।

बुटवल–मोतीपुर १३२ केभी प्रसारण लाइन मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले भोलीदेखि कार्तिक १४ गतेसम्म २४ घण्टासम्म विद्युत आपूर्ति बन्द हुन सक्ने प्राधिकरणका प्रमुख सुरेश कुमार महतोले जानकारी दिनुभयो ।

प्राधिकरणका अनुसार बुटवल–मोतीपुर १३२ केभी प्रसारण लाइनको बुटवल क्षेत्रमा चारवटा ल्याटिस टावरलाई मोनोपोलद्धारा प्रतिस्थापन गर्ने काम भइरहेको छ । उक्त अवधिमा प्रभावित क्षेत्रमा बत्ती जान सक्ने भएकाले सबै उपभोक्तालाई सचेत रहन अनुरोध गरिएको छ ।


भोली ८ गतेदेखि १४ गतेसम्म लाइनको दुबै सर्किट २४ घण्टा सटडाउन हुन सक्ने प्राधिकरणका प्रमुख महतोले जानकारी दिनुभयो । मर्मत गर्दा लाइन आउने जाने हुनसक्ने प्रमुख महतोको भनाई छ ।

सेवा अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले क्षमायाचना गरेको छ ।