अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवशः छुवाछुत अन्त्यको लागी ऐक्यबद्धता

तुलसीपुर,६ चैत ।
मार्च २१ मा मनाईने अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवश तुलसीपुरमा मनाईएको छ । दिवशका अवसरमा तुलसीपुर उपमहानगरपालिका र वडा नम्बर ११ को आयोजनामा कानुनी अभिमुखीकरण कार्यक्रम भएको छ । वडाका दलित तथा गैरदलित समुदायका विच उक्त कार्यक्रम गरिएको थियो ।
वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

त्यस अवसरमा बोल्दै नगर प्रमुख टिकाराम खड्काले विभेदमुक्त समाज निर्माण गर्ने उद्देश्य रहेको हुदा सबैको साथ आवस्यक रहेको बताएका थिए । उनले दलित सशक्तिकरण ऐन निर्माण गरिएको बताउदै यसलाई वडा तह सम्म लैजाने र जातिय विभेद अन्त्य गर्ने बताएका थिए । वडा सदस्य प्रभा परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अधिबक्ता मोहन धितालले जातिय विभेदका सवालमा कानुनी प्रक्रियाबारे जानकारी गराएका थिए । उनले जातिय विभेद मानव सभ्यताको कंलकका रुपमा रहेकोले अन्त्य गर्नका लागि सबै जुट्नुपर्ने बताएका थिए । कार्यक्रमहरूमा सहभागीहरूलाई नेपालको संविधानले प्रदान गरेको समानताको अधिकार, जातीय भेदभाव तथा छुवाछुतविरुद्धका कानुनी प्रावधान र न्याय प्राप्त गर्ने प्रक्रियाबारे धितालले जानकारी गराएका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे,दलित अधिकारकर्मि निर्मल नेपाली,युवा करारा,खेम विश्वकर्मा,बच्चु परियार लगायतले बोलेका थिए । उनिहरुले दलित समुदायमा कानुनी साक्षरता अभिवृद्धि भएमा सामाजिक न्याय, समानता र समावेशी विकासमा महत्वपूर्ण टेवा पुग्ने बताएका थिए । कार्यक्रममा सहभागीले स्थानीय स्तरमा अझै पनि अशिक्षा, सामाजिक दबाबका कारण पनि दलित समुदायले विभेद खेप्न परेको गुनासो गरेका थिए । कार्यक्रमका सञ्चालन वडा सचिव पदम कुमार भण्डारीले गरेका थिए ।


वडा स्तरीय दलित विकास समिति गठन
यसैविच वडा कार्यालयको सभा हलमा सहभागी दलित र गैरदलितका विचमा हुने जातिय विभेद अन्त्यका लागि प्रतिबद्धता जनाएका छन । विभिन्न टोलबाट सहभागी गैरदलित,पुरोहित तथा अगुवाबाट वडा स्तरमा समेत दलित विकास समिति गठन गरिएको छ । उपमहानगरको ऐन अनुसार तुलसीपुरमा पहिलोपटक वडामा समिति गठन गरिएको हो । वडाध्यक्ष मान बहादुर रावत संयोजक रहेको १९ सदस्यीय समिति गठन गरिएको हो । जस्को सदस्यहरुमा प्रधानाध्यापक तर्फबाट योगराज खत्री,पुरोहितबाट हरी प्रसाद मज्गैया, प्रभा परियार,महतवाबाट रेशम चौधरी,टोल विकासबाट केशवराज डाँगी,बसन्त परियार,मधु नेपाली,माया विक लगायतका रहेका छन ।

समिति गठन पछि बोल्दै संयोजक समेत रहेका वडाध्यक्ष मान बहादुर रावतले वडामा पहिलो पटक समिति गठन बताएका थिए । समुदाय स्तरबाट कार्यक्रममा सहभागी भइ विभेद अन्त्यको लागि ऐक्यबद्धता जनाएकोले सभ्य समाज निर्माणमा टेवा पुग्ने बताएका थिए ।