कर कार्यालय तुलसीपुरमा एउटा गाडी र स्टिकर मात्रै बचे

तुलसीपुर, ३० भदौ ।
जेनजीको आन्दोलनका क्रममा आगजनी गरिएको दाङको तुलसीपुर स्थित आन्तरिक राजश्व कार्यालयको एउटा गाडी र केही स्टिकर मात्रै बचेका छन् । कार्यालय प्रमुख श्रीधर टन्टनका अनुसार आन्दोलनको टोली कर कार्यालय तर्फ मोडिएपछि एउटा गाडीलाई कार्यालय भन्दा बाहिर राखेर बचाउन सफल भईएको हो । त्यो बाहेक कार्यालय भित्रका सबै सामान जलेर नष्ट भएको उहाँले बताउनुभयो ।“गाडी मात्रै बाहिर राखेर बचाउन सफल भयौं”उहाँले भन्नुभयो“भित्र त केही सचेतनामुलक स्टिकर मात्रै बचेका थिए, अरु सबै जलेर नष्ट भए ।”

उहाँका अनुसार कार्यालय, क्वाटर तथा ग्यारेजसहित ५ वटा भवन जलेका छन् । ति भवन पुनः प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने कुरा प्राबिधिकले परीक्षण गरेपछि मात्रै थाहा हुने समेत उहाँले बताउनुभयो ।


त्यस्तै कार्यालयका कम्प्युटर जलेर नष्ट भएका छन् । कार्यालयमा रहेका साविक राप्ती अञ्चलका जिल्लाहरुका सबै फाईल, अडिट, मुद्दा, अनुसन्धानका फाईल, तीन वटा गाडी, ३ वटा सरकारी मोटरसाईकल, कार्यालय प्रमुख र एक जना शुब्बामो निजि मोटरसाईकल जलेर नष्ट भएको प्रमुख टन्डनले बताउनुभयो । उहाँका अनुसार अनलाईनमा काम हुने भएकाले डाटा सुरक्षित भएमा भने सहज हुनेछ ।

करछली गरेर ब्यबसाय गरिरहेकाहरुबाट जफत गरि ल्याएका सामग्रीहरु समेत जलेर नष्ट भएका छन् । त्यहाँ क्वाटरमा तीन परिवारसहितका कर्मचारी बस्ने गर्थे ।