तुलसीपुर
२२ पुस / दाङको तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये २६ जना विद्यार्थी रहेका छन् । विहीबार मात्रै सेन्टर मावि तुलसीपुरका शिक्षक र विद्यार्थी गरि १५ जना तथा गुरुजजुर मावि तुलसीपुरका ११ जना शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विमल केसीका अनुसार आज २५ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रमित हुनेमा १३ देखि ५९ बर्ष उमेर समूहका व्यक्ती रहेका छन् । १४२ जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै तुलसीपुरमा पछिल्लो चारदिन यता ८४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुलाई ओमिक्रोन हो वा होइन् भनी परीक्षणकालागि टेकुमा स्वाब संकलन गरि पठाईएको छ । कोरोना देखिएपछि गुरुजजुर माबिलाई पुस २७ गतेसम्म बन्द समेत गरिएको छ ।
आज दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुमा संक्रमण पुष्टिभएसंगै पाँच वटा विद्यालयमा कोरोनाको संक्रमण देखिएको छ । यस अघि तुलसीपुर ८ स्थित अस्वारा मावि, तुलसीपुर ६ स्थित राप्ती बाल एकाडेमी र जनता सांस्कृत माविका विद्यार्थी तथा शिक्षकहरुमा कोरोना देखिएको हो । केसीका अनुसार अस्वारामा ३ जना सुस्तश्रवन विद्यार्थी, ६ जना अन्य विद्यार्थी तथा ५ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै राप्ती बाल एकाडेमीमा अध्ययनरत २ जना विद्यार्थी र जनता संस्कृत माविका एक जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको छ । विद्यार्थी तथा शिक्षकहरुमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताकालागि बन्द गरिएको छ । पछिल्लो समय शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको भन्दै यसकालागि सचेत हुन आबश्यक रहेको उहाँले बताउनुभयो । “विद्यार्थी र शिक्षकहरुमा नै कोरोना देखिएको छ”, उहाँले भन्नुभयो“ यसले स्थिति भयाबह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आबश्यक छ ।”
विद्यालयमा नै बढि देखिएकाले केही समयकालागि विद्यालय बन्द गर्ने अबस्था आउन सक्ने उहाँको भनाई थियो । प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौंलगायतका स्थानमा ‘टुर’ गएकाहरु रहेको निरीक्षक केसीले बताउनुभयो । उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्राय ः भेलिसिल, कोभिसिल्ड खोप लगाएकाहरुलाई नै संक्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ ।
लाइभदाङ । २२ पुष २०७८, बिहीबार १९:५५ बजे