तुलसीपुर उपमहानगरपालिकाले पाठ्यक्रम निर्माण गर्दै

दाङ, १६ पुस । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्य सुरु गरेको छ । स्थानीय विषयबस्तुहरुलाई समेटेर पाठ्यक्रम निर्माण कार्य शुरु भएको हो ।

पाठ्यक्रम निर्माण भएपछि शैक्षिकशत्र २०७९ देखि उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा पढाई सुरु हुनेछ । कक्षा १ देखि ८ सम्मकालागि पाठ्यक्रम तयार पार्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले बताए ।

उपमहानगरपालिकाले यहाँको भौगोलिक तथा जनसंख्याको अबस्था, भाषा, संस्कृति, परम्परा, चाडपर्व, जातजाति, भेषभुषा, धर्म, प्राकृतिक सम्पदा, पर्यटकीय क्षेत्र, वातावरण, एतिहासिक तथा सांस्कृतिक संरचना, पर्यावरणीय सचेतना तथा प्राकृतिक तथा मानवजन्य प्रकोप न्यूनिकरण र विपद व्यबस्थापनलगायतका विषयहरु पाठ्यक्रममा समावेश हुनेछन् । त्यस्तै शैक्षिक अबस्था, संरचनागत धारणा, पेशागत धारणा तथा सामाजिक रहनसहन र मूल्यमान्यता, कृषि व्यबसाय तथा पशुपंक्षी पालन, परम्परागत चिकित्सा एवं प्राथमिक उपचार विधि, उद्योग एवं कलकारखाना, खुलकुद, सञ्चार प्रबिधिलगायतका विषयमा पनि पाठ्यक्रममा समावेश हुने भएका हुन् ।


शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले सरोकारवाला ब्यक्तीहरुसंग पहिलो चरणको अन्तरक्रिया गरेको हो । त्यस अवसरमा एनप्याव्सन तुलसीपुरका अध्यक्ष भोजराज न्यौपानेले स्थानीय विषयबस्तुलाई समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने बताए । उनले पाठ्यक्रम निर्माण गर्दा बालबालिकाहरुको भावनालाई कदर गर्नुपर्ने समेत बताए । त्यस्तै वातावरण विद डिल्लीबहादुर रावतले पाठ्यक्रममा अर्गानिक कुरालाई बढि जोड दिनुपर्ने बताए । उनले विद्यार्थीहरुलाई बढि माटोको बारेमा जानकारी गराउने खालले पाठ्यक्रम तयार गर्नुपर्ने बताए ।

साथै तुलसीपुर उपमहानगरपालिकाका अधिृकृत झरेन्द्र खरेलले स्थानीय काष्टकला, चित्रकला, पर्यटनलाई पनि समावेश गर्नुपर्ने बताए । त्यस्तै शिक्षा विज्ञ मुकुन्द रिजालले हाजिरि अपडेट तथा विद्यार्थीको नियमिततालाई ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रत्येक घरमा एकजना प्राबिधिक शिक्षा पढेको विद्यार्थी हुनुपर्ने बताए । त्यस्तै टोलटोलमा पिएचडी परेको व्यक्ती भएमा समाज सभ्य र शिक्षित हुनुपर्ने बताए । त्यस्तै उनले स्थानीय पाठ्यक्रम जीवन उपयोगी र रुपान्तरणमुखी हुनुपर्ने समेत बताए ।