
प्रिया स्मृती गजमेर
लमही, १५ भदौ ।
गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले सहकारी सञ्चालनमा पारदर्शिता हुनु पर्ने बताउनु भयो । शनिबार गढवामा आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको आफ्नो ११ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले पछिल्ला दिनमा सहकारी संस्थाप्रति देखिएको नकारात्मक बुझाइलाई चिर्न सबै सहकारीकर्मी एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सहकारीका सञ्चालनमा पारदर्शिता र नियम–विनियमको पालना अनिवार्य रहेको उल्लेख गर्दै सदस्यहरूले संस्थाको मर्म र भावनालाई गहिरो रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष तथा विशिष्ट अतिथि शारदा चौधरीले आयाम सहकारीलाई पालिकाको उत्कृष्ट सहकारीमध्येको एक भएको उल्लेख गर्दै यसले आर्थिक समृद्धि र बचतको संस्कार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।
कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखा संयोजक अशोक कुमार यादव, नेपाल रेडक्रस सोसाइटी गढवाका सभापति उमाकान्त पन्त, संस्थापक किरण विक्रम शाह, सहकारी सञ्जालका सचिव दामोदर ढुंगाना, वन तथा वातावरण संरक्षण समितिकी पुष्पा यादव, चुरे क्षेत्र बचत तथा ऋण सहकारीका अध्यक्ष हेमन्त चौधरी, भिटा परियोजनाका बसन्त कुमार शर्मा, गढवा पञ्चेबाजा कला तथा संस्कृति संरक्षण केन्द्रका सचिव तिलक पुन र उद्योग वाणिज्य संघका प्रतिनिधि डेगमान जिसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
सहकारीका सचिव श्याम चौधरीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष समिर खानले ४ करोड ३१ लाख ९ हजार ६०८ रुपैयाँ २५ पैसाको वार्षिक आय–व्यय विवरण तथा आर्थिक वर्ष २०८२/०८३ को अनुमानित बजेट प्रस्तुत गर्नुभयो।
साधारण सभामा उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट बाल बचतकर्ता तथा उत्कृष्ट दैनिक बचतकर्तालाई सम्मान गरिएको थियो ।
आयाम बहुउद्देश्यीय बचत सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष ओम प्रकाश बस्सेलको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण शर्मा पोख्रेल प्रमुख अतिथि रहनु भएको थियो।
सहकारीकी प्रवन्धक सीता नेपालीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सचिव श्याम चौधरीले गर्नुभएको थियो ।



लाइभदाङ । १५ भाद्र २०८२, आईतवार ०८:०१ बजे