
मान्छे जब अफ्टेरो पर्छ, तब पुर्काछ–हे भगवान् । सबै भन्दा बढि पुकार्ने ठाउँ भनेको की त मन्दिर हो, कि भने अस्पताल नै हो । मन्दिरमा सुख, दुःख सबै बेला पुकारिन्छ तर, अस्पतालमा अफ्टेरो पर्दा मात्रै पुकारिन्छ । जतिबेला विरामीहरु अस्पतालको बेडमा छट्पटिएका हुन्छन् । विरामीको जीवनको आशा, भरोसा नै अस्पताल हुन्छ । त्यो अस्पतालका भगवान् डाक्टर हुन्छन् । तर, डाक्टरहरु नै सुरक्षित हुने अबस्था छैन । त्यसको एउटा उदाहरण हो– तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल । जहाँ डाक्टरहरु कहिल्यै सुरक्षित महसुस गरिरहेका छैनन् । कुनै बेला सुरक्षाकै कारण डाक्टरहरु आउन समेत मान्ने अवस्था थिएन । तर, अहिले डाक्टरहरु अस्पतालमा आउन सहजै मानेपनि यहाँ बस्दा सुरक्षित महसुस गरिरहेको अवस्था छैन ।
यहाँ हुने अस्वस्थ राजनीति र समाजले पनि चिकित्सकहरु मर्कामा परिरहेका छन् । लामो समय अस्पताल विकास समितिमै राजनीति, पटक–पटक मेसु परिवर्तनमा चलखेलजस्ता कुराले डाक्टरको बिशेषज्ञता अनुरुप काम गर्न हौसला नहुँने, काम गर्न जाँगर नचल्ने जस्ता समस्याहरु पटक–पटक आइरहेकै छन् । त्यसमा पनि आफ्ना मान्छेलाई कर्मचारीको रुपमा भर्ति गर्न आउने दवावले झनै डाक्टरहरुलाई काम गर्न कठिनाई हुन्छ । त्यसरी राजनीतिक नियुक्तिबाट गएकाहरुले चिकित्सकहरुको समेत मर्यादा नराख्ने जस्ता कार्य पनि पटक–पटक भइरहेकै हुन्छन् । एउटा मेसु परिर्वतन गर्नलाई त्यहाँका एच.ए., कार्यालय सहयोगीजस्ताले भूमिका खेलिरहेका हुन्छन् । यस्ता कुराले डाक्टरहरुमाथि काम गर्ने हौसला भन्दा पनि उनीहरुको बिशेषज्ञताप्रतिको इज्जतमा गिरावट आउने गर्छ ।
डाक्टर भनेका भगवान् नै हुन् । एउटा चिकित्सकले गर्ने काम अरु कसैले पनि गर्न सक्दैन । डाक्टरले कहिल्यै पनि विरामीको स्वास्थ्य माथि खेलवाड गर्दैनन् । जसरी हुन्छ्, आफूसंग आएका विरामीलाई बचाउने नै हुन्छ । जति नै दुश्मनी भए पनि विरामीप्रति कुनै पनि खेलवाड नगर्ने डाक्टरहरुप्रति नागरिकहरु भने सधै आक्रोसित नै हुन्छन् । स्रोत साधनको अबस्था कस्तो छ, उनीहरुको कार्य समय कति हो, भन्ने कुराको कुनै ख्याल नगरि चिकित्सकहरुमाथि नै धेरै प्रहार हुनु चिन्ताजनक अबस्था हो । यदि चिकित्सकले विरामी नै नहेरे के होला?, तुलसीपुर जस्तो ठाउँमा चिकित्सकहरु नै आउन नमाने के होला ? यस्ता कुराको ख्याल नगरि विरोधका नाममा मात्रै विरोध गर्ने प्रवृतिले यस क्षेत्रको स्वास्थ्यको अवस्थालाई झनै विगार्न तिर लाग्छ, त्यसैले यस क्षेत्रका सचेत वर्गले यस्ता कुरामा ध्यान दिन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २८ श्रावण २०८२, मंगलवार ०८:१९ बजे