
दाङ, २२ पुस ।
समाजमा हरेक व्यक्तिको आफ्नै ठाउँ र भूमिका हुन्छ। खेतमा पसिना बगाउने किसान, कारखानामा श्रम गर्ने मजदुर, विद्यालयमा पढाउने शिक्षक, अस्पतालमा उपचार गर्ने डाक्टर—सबै आ–आफ्नो क्षेत्रका विज्ञ हुन् ।
तर पछिल्लो समय उदाउँदै गरेका केही नयाँ राजनीतिक दल र बौद्धिक वृत्तमा ‘विज्ञ’ भन्ने शब्दलाई डिग्री, पिएचडी र औपचारिक प्रमाणपत्रमा सीमित गर्ने खतरनाक प्रवृत्ति देखिन थालेको छ। यसले ज्ञानको परिभाषालाई साँघुरो बनाउनेमात्र होइन, समाजलाई गहिरो वर्गीय विभाजनतर्फ धकेल्न सक्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।
किसानलाई माटो, मौसम र बालीबारे विश्वविद्यालयको पाठ्यपुस्तकभन्दा बढी ज्ञान हुन्छ। मजदुरलाई उत्पादन प्रक्रिया, श्रमको मूल्य र कामको जोखिमबारे प्रत्यक्ष अनुभव हुन्छ। यी ज्ञानहरू किताबमा लेखिएका नहुन सक्छन्, तर ती जीवनले सिकाएका ज्ञान हुन् । जब राजनीतिक नेतृत्व र नीति निर्माताहरूले यस्ता अनुभवजन्य ज्ञानलाई कम आँक्छन् र डिग्रीधारीलाई मात्र ‘बौद्धिक’ को दर्जा दिन्छन्, तब समाजमा—नपढेका कमजोर हुन्, पढेका मात्रै सक्षम छन्, भन्ने भ्रम सिर्जना हुन्छ ।
यो भाष्य लोकतन्त्रका लागि गम्भीर चुनौती हो। लोकतन्त्रको सार मत हाल्न पाउनु मात्र होइन्, आफ्नो अनुभव, आवाज र ज्ञानलाई सम्मान पाउनु पनि हो। यदि किसान र मजदुरलाई नीति निर्माणमा सहभागी गराइँदैन भने, राज्य क्रमशः‘एलिट परियोजना’ बन्छ। त्यसपछि बनाइने नीतिहरू कागजमा त आकर्षक देखिएलान्, तर खेत, कारखाना र बस्तीको यथार्थसँग मेल नखान सक्छन्। यथार्थसँग टाढिएका नीतिहरूले अन्ततः जनताको विश्वास गुमाउँछन् ।
दीर्घकालीन रूपमा यसको अर्को गम्भीर असर सामाजिक मनोविज्ञानमा पर्छ। जब कुनै समूहलाई निरन्तर ‘कम जान्ने’ वा ‘अविज्ञ’ भनेर चित्रित गरिन्छ, त्यस समूहमा हीनभावना विकास हुन्छ। राजनीतिक सहभागिता घट्छ, असन्तोष बढ्छ, र कहिलेकाहीँ त्यो असन्तोष विस्फोटक रूपमा बाहिर निस्किन सक्छ। इतिहासले देखाएको छ—अनुभव र श्रमलाई हेप्ने समाज दीर्घकालीन रूपमा स्थिर रहँदैन।
यसको अर्थ औपचारिक शिक्षा वा प्राविधिक ज्ञानको अवमूल्यन गर्नु होइन। डाक्टर, इन्जिनियर, अर्थशास्त्री र अनुसन्धानकर्ताको भूमिका अत्यन्तै महत्वपूर्ण छ। तर समस्या तब उत्पन्न हुन्छ, जब औपचारिक ज्ञानलाई मात्र वैध र बाँकी सबै ज्ञानलाई गौण बनाइन्छ। समावेशी समाज भनेको विभिन्न किसिमका ज्ञानहरूको सहअस्तित्व हो ।
नयाँ राजनीतिक दलहरूले आफूलाई पुरानाभन्दा फरक र प्रगतिशील दाबी गरिरहेका छन्, भने, उनीहरूले सबैभन्दा पहिले विज्ञताको परिभाषा फराकिलो बनाउनुपर्छ। किसान र मजदुरलाई केवल ‘लाभग्राही’ होइन, नीति सह–निर्माता को रूपमा हेर्ने दृष्टिकोण विकास गर्नुपर्छ। विकास र सुशासन त्यहीँ सम्भव हुन्छ, जहाँ ज्ञानको अहंकार होइन, अनुभवको सम्मान हुन्छ।



लाइभदाङ । २२ पुष २०८२, मंगलवार १३:४५ बजे